
काठमाडौं, ९ असोज । यस वर्षको अब्राहम संरक्षण पुरस्कार सामुदायिक वन समुन्वय समिति कञ्चनपुरले पाएको छ ।
राष्ट्रिय संरक्षण दिवसको अवसरमा संस्थागततर्फ अब्राहम संरक्षण पुरस्कार सामुदायिक वन समुन्वय समिति कञ्चनपुर र व्यक्तिगततर्फ नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक विरेन्द्र जोहारीले पाउनुभएको हो ।
लालझाडी जैविक मार्गमा रहेको सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वन संरक्षणमा महत्वपूर्ण भूमिका खेले वाफत र जोहारीले चोरीशिकारी तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेले वाफत एक समारोहका बीच बिहीबार उक्त पुरस्कार पाएका हुन ।
समन्वय समितिले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र पाएको समुन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वन्यजन्तुको वासस्थान संरक्षणका लागि शुन्य चरिचरन क्षेत्र घोषणा, विजयसालको संरक्षण लगायतका अभियानमा नेतृत्व लिएको छ ।
यस्तै सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूह महाकालीका संयोजक समेत रहनुभएका जोहारीले नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनुभएको छ । जोहारीले वन्यजन्तुको शिकार विरुद्ध १२ वटा अनुसन्धानको नेतृत्व लिएर ३० जना चोरीशिकारमा संलग्नलाई पक्राउ गर्नुभएको जनाइएको छ ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रधानन्यायधिश कल्याणकुमार श्रेष्ठ र विशिष्ठ अतिथि वन मन्त्रि महेश आचार्य रहनुभएको थियो । वन र वातावरण संरक्षणमा जोड दिँदै विभिन्न कार्यक्रम गरी राष्ट्रिय संरक्षण दिवस बिहीबार मनाइएको छ । २०६५ सालदेखि असोज ७ गते संरक्षण दिवस मनाउन थालिएको हो ।

















प्रतिक्रिया