३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको दोहारी साँझकी गायिकाको शव भेटियो, श्रीमान र सौताले हत्या गरेको अशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लोकगायिका आशा केसी (विक) को मृत्यु शङ्कास्पद भएको भन्दै आफन्तजनले निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

फेवा दोहोरी साँझ ठमेलमा लोकगीत गाउँदै आएकी आशाको मङ्गलबार बौद्ध तीनचुलीमा शव भेटिएको थियो । विषसेवन गरी उनको मृत्यु भएको भनिए पनि परिवारले विश्वास गरेको छैन । आशाको मृत्युको खबर पाएपछि गोरखा देउराली गाविस–३ बाट बाबुआमा आई बिहीबार महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएका छन् ।

काभ्रेपलाञ्चोकका विजय भनिने लक्ष्मण तामाङसँग प्रेम विवाह गरेकी आशाको सम्बन्ध पछिल्लो समय श्रीमान्सँग बिग्रिएको थियो । विजयको जेठी श्रीमती पनि भएको र उनी कामका लागि विदेश गएको रहस्य खुलेपछि सम्बन्ध बिग्रिएको दोहोरी साँझका सञ्चालक भोज लामाले जानकारी दिनुभयो ।

Asha-kc“मैले दुई वर्षदेखि आशासँग भाइटीका लगाउँदै आएको थिएँ, लक्ष्मणले अविवाहित छु भनी प्रेम जालमा फसाएर विवाह गरेका रहेछन्, जेठी श्रीमती पनि भएको थाहा पाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो”– सञ्चालक लामाले भन्नुभयो– “रु १७ लाखको जग्गा किनेर लक्ष्मणले आफ्नो नाममा गरेकाले त्यो फिर्ता गरी सम्बन्धविच्छेद गर्छु भनी पति लक्ष्मण र सौता निमा तामाङलाई भेट्न गएकी थिइन्, दुई दिनपछि उनको शव भेटिएको खबर पाइयो ।”

आशाका श्रीमान् लक्ष्मणलाई वृत्त बौद्धले अनुसन्धानका क्रममा पक्राउ गरी थप खोज अध्ययन गरिरहेको प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

निष्पक्ष छानबिनको माग गर्दै आज कलाकर्मी र आफन्तले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र वृत्त बौद्ध अगाडि धर्ना एवम् नाराबाजी गरे । निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही नगरेसम्म आशाको शव नबुझ्ने परिवारजनले बताएका छन् । रासस