काठमाडौं, ८ असोज । सरकारले नेपालमाथिको नाकाबन्दीबारे भारतीय राजदूत रञ्जीत रेलाई स्पष्टिकरण सोधेको छ ।
नेपाल आउने सीमा नाकामा मालवहाक नेपाली सवारी आवागमनमा रोक लगाएपछि राजदूत रेलाई शुक्रबार अपरान्ह सिंहदरवारस्थित मन्त्रालयमा बोलाएर कार्यबाहक परराष्ट्र मन्त्री खगराज अधिकारीले स्पष्टिकरण लिएका हुन् ।
स्पष्टिकरणमा नेपाल आउने मालवहाक नेपाली सवारी र उपभोग्य पदार्थ भारतमा किन र के कारण रोकिएको हो र उपभोग्य सामान रोकिएपछि सीमामा बढेको तनाव रोक्न भारतीय पक्षले के पहल गरिरेको छ भन्ने बारेमा मन्त्री अधिकारीले राजदूतसँग जानकारी लिएका छन् ।
मन्त्री अधिकारीले सीमामा रोकिएका मालवहाक सवारी नेपाल प्रवेशका लागि सहज वातावरण बनाउने पहल थाल्न पनि राजदूत रेलाई स्पष्टिकरणसँगै आग्रह समेत गरेका छन् ।
जवाफमा भारतीय राजदूत रायले भने सीमामा भारतको कुनै अवरोध नभएको र नेपाली पक्षको आन्दोलनका कारण अवरोध आएको जवाफ दिएको बताइएको छ । नयाँ संविधानलाई लिएर असन्तुष्ट देखिएको भारतले केही दिनदेखि सुरक्षाको कारण देखाउँदै सीमामा अवरोध गर्दै आएको छ ।












प्रतिक्रिया