३० आश्विन २०८३, शुक्रबार

‘दिल्लीका आदेश है’ भन्दै सीमानामा रोक्ने को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूर्य सिलवाल, गृहसचिव
सूर्य सिलवाल, गृहसचिव

काठमाडौं, ९ असोज । गृहसचिव सूर्य सिलवालले नेपाल–भारतको नाकामा बसेर मधेसी आन्दोलनकारीले अबरोध पर्‍याएका कारण मालहबाहक सवारी साधनलाई नेपाल भित्र्याउन समस्या परेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय सुरक्षा परिषद्ले यस विषयलाई गम्भीरताका साथ लिएको भन्दै सरकार कडाइका साथ अगाडि बढ्ने बताउनुभयो ।

त्यसका लागि सरकारले सबै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको संकेत गर्नुभएको छ । सिलवालले सीमानाकाबाट मालबाहक सवारी साधन भित्र्याउन सबै उपाय अपनाइने भन्दै आन्दोलनकारीलाई कडा चेतावनी दिनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज (शुक्रबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै गृहसचिव सिलवालले नेपाली आन्दोलनकारीले आफ्नो मर्यादा भुलेर सीमानाकामा बसेर आन्दोलन गरेको बताउनुभयो । उहाँले दुई देशवीचको सीमानामा बसेर अबरोध गर्न नपाइने बताउनुभएको छ ।

आन्दोलन गर्ने भए पनि आफ्नो मुलुकमा बसेर गर्नुपर्ने बताउनुभएका गृहसचिव सिलवालले यस विषयमा भारतीय पक्षसँग पनि आफूहरूले परामर्श गर्ने बताउनुभएको छ ।

मालबाहक सवारीका चालकलाई दिल्लीका आदेश है, नेपालमे अशान्ति है भन्नुका साथै नेपालमा अशान्ति छ भनेर सीमानामा भारतीय सुरक्षाकर्मीले नै नेपालमा मालबाहक सवारी साधन आउन रोकेको उहाँको संकेत थियो ।

मालबाहक सवारी साधनलाई रोक्न भ्रम फैलाउन मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरू भरततर्फ सीमानामा बसेर अबरोध गरेको गृहसचिव सिलवालको भनाइ छ । ‘दुई मुलुकको सीमानामा बसेर यसरी भ्रमण फिजाउन पाइदैन’, उहाँले भन्नुभयो, ‘भारतीय सुरक्षा निकायले पनि ध्यान दिनुपर्छ । हामीले कुरा राख्ने छौँ ।’

भारतबाट नाकाबन्दी गरेको कुनै औपचारिक जानकारी आइनसकेको बताउनुभएका गृहसचिव सिलवालले यस विषयमा सम्बन्धित निकायमार्फत कुरा अगाडि बढाइरहेको बताउनुभयो ।

जनतालाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन सरकार सक्षम रहेको बताउनुभएका गृहसचिव सिलवालले आवश्यक परे उत्तरी नाका पनि खोल्न सकिने संकेत गर्नुभएको छ ।

भारतले नाकाबन्दी गरेको जानकारी नदिएको दोहर्‍याउनु भएका गृहसचिव सिलवालले भन्नुभयो, ‘शान्ति सुरक्षा छ भनेका छौँ । मालबाहक सवारी साधनका चालकलाई भारतीय भूमि र सीमानामा बसेर धम्क्याउने, डर हाल्ने, आतंक फैलाउन कार्य भएको पाएका छौँ । यो गम्भीर विषय हो ।’

मधेसी मोर्चाका नेता तथा कार्यकता भारततर्फको भूमिमा बसेर नेपाल आउने मालबाहक सवारी साधनलाई डर, त्रास, धम्की दिएर रोक्ने गरेको गृहसचिव सिलवालको संकेत थियो ।