बिर्तामोड, ६ असोज । भदौ २९ गते बिहान । सुरुङ्गा बजार नजिकै रहेको ‘स्वतन्त्र बप्तिस चर्च’मा शङ्कास्पद वस्तु भेटियो । सुरुङ्गा प्रहरी चौकीबाट २ सय मिटर पूर्वमा रहेको चर्चमा सकेट बम राखेको प्रहरीले पत्तै पाएनन् ।
स्थानीयबासीले सुरुङ्गा प्रहरी चौकीमा खबर गरे । चौकीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खबर गर्यो । इप्रका बिर्तामोडका डीएसपी प्रज्वल महर्जन नेतृत्वको टोली चर्चमा पुगेपछि उक्त वस्तु बम हो कि होइन भन्नेमै कुरा बाझियो ।
यत्तिकैमा डीएसपी महर्जनको निर्देशनमा स्थानीय एक महिलासँग झोला मागेर प्रहरीले त्यो शङ्कास्पद वस्तुलाई सोही झोलामा हाले । र, चौकीसम्म पुर्याए । झोला दिने महिला चौकीमै पुगेर आफ्नो झोला फिर्ता माग्दै थिइन् । चौकी पुगिसकेपछि सुरुङ्गाका प्रहरी सहायक निरीक्षक देवनारायण यादवले त्यस वस्तुलाई झोलाबाट झिकेर ‘यो बम–सम केही होइन’ भन्दै हातमा निकालेर खेलाउन थाले । उनले ओल्टाइ–पल्टाइ गर्दागर्दै प्रहरी चौकीमै बम विष्फोट भयो । तीन प्रहरी घाइते भए ।
विष्फोटमा परी प्रहरी सहायक निरीक्षक यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भए । घाइते तीनै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गरियो । चर्चमा राखिएको वस्तु बम हो कि होइन पत्ता लगाउन प्रहरी चौकी लगिएको थियो ।
स्थानीयका अनुसार प्रहरीकै असावधानीका कारण विष्फोट भएको हो । बमलाई विष्फोट गराउन ढुङ्गामाथि मच्छड धुपमा तार बाँधेर धुपमार्फत् आगो सल्काईएको एक प्रत्यक्षदर्शीले बताए ।
तर, धुपमा आगो सल्किए पनि त्यहाँ विष्फोट नभएकाले प्रहरीले त्यसलाई सहजै झोलामा हालेका हुन् । बम विष्फोट हुँदा डीएसपी महर्जन चौकी परिसरमै थिए । घटना हुँदा झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहाल भने बिदामा बसेका थिए ।
बम राखिएको स्थान वरपर हिन्दू मोर्चा नेपाल लेखिएको दर्जनौ सङ्ख्यामा पर्चा फेला परे । पर्चामा मोर्चाको शैन्य विभाग प्रमुख लेखिए पनि पर्चा हस्ताक्षररहित थियो । यस घटनामा प्रहरीले हिन्दु मोर्चा नेपालका सैन्यकमाण्डर सहित ३ जना कार्यकर्तालाइ विभिन्न पक्राउ गरेको छ । चार जना फरार रहेका छन् । पक्राउ पर्नेमा कटहरी–१ र मोरङ् वेलवारी –३ तल्लो धरहराका अभियान सिंह,प्रताप,रामराज्य र अर्जुन सिंह उपनामका राम भण्डारी, विर्तामोड नगरपालिका–७ का कुष्ण चुडाल र विर्तामोड–८ सुर्यनगरका रामचन्द्र छन् ।
तर, यो घटना भएको केही दिन नबित्दै बिर्तामोडका डीएसपी महर्जनलाई विभागीय कारबाही भएको छ । जसअन्तर्गत उनको ठाउँमा अपराध अनुसन्धान विद्यालयका डीएसपी खगराज खत्रीलाई खटाइएको छ । महर्जनलाई अञ्चल प्रहरी कार्यालय मेचीमा तानिएको छ ।

















प्रतिक्रिया