
विराटनगर, ५ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि मार्गचित्रसहित सरकार अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सीमाङ्कन, समानुपातिक, समावेशीता जस्ता मधेसी मोर्चाले उठाएका मुद्दामा सरकार मार्गचित्रसहित वार्ताका लागि अग्रसर हुनुपर्ने स्पष्ट पार्नुभयो ।
एक महिनाभन्दा बढी समयदेखि विद्यालय, यातायात, उद्योग बन्दका कारण जनजीवन अस्तव्यस्त भएकाले आन्दोलनको स्वरुप परिवर्तन हुने हो कि भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले भन्नुभयो – ‘आज राजविराजमा हुन गइरहेको मोर्चाको बैठकमा आन्दोलनको समीक्षाका साथै आन्दोलनको स्वरुप परिवर्तनको सन्दर्भमा छलफल हुनेछ ।’
उहाँले बैठकमा राज्यको दमनविरुद्ध कडा कदम चाल्ने विषयमा पनि निर्णय हुने बताउनुभयो । भारतको पछिल्लो विज्ञप्तिको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा उहाँले भारतीय पक्षको विज्ञप्तिबारे आपूmलाई कुनै जानकारी नभएको बताउनुभयो । रासस















प्रतिक्रिया