न्युयोर्क । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुन गैरहेको गैरआवासीय नेपाली संघको सातौ अन्तर्राष्ट्रिय महाधिवेशनमा चुनिने केन्द्रीय नेतृत्वको उपाध्यक्ष पदका लागि खगेन्द्र क्षेत्रीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष क्षेत्रीले न्युयोर्कमा आयोजित एक कार्यक्रममार्फत् आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । घोषणासभालाई सम्वोधन गर्ने क्रममा सातबुँदे एजेण्डा प्रस्तुत गर्दै उनले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुमाझ उत्तर अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्ने र समस्त गैरआवासीय नेपालीहरुको मन जितेर एनआरएनको ग्लोवल अभियानमा सहभागी हुने प्रण गरे ।
एनआरएनको ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारालाई वास्तविकतामा परिणत गर्न कृतसंकल्पित रही सातौं अन्तर्राष्ट्रिय महाधिवेशनको मूल नारा ‘एनआरएनए : पुननिर्माणको सच्चे पहरेदार’ लाई यथार्थमा परिणत गर्न प्रतिवद्ध रहने पनि उनले बताए ।
मुलुकमा संविधान बनेपछि बन्न लागेको लगानीमैत्री वातावरणमा एनआरएनको लगानी अभिवृद्धि गर्ने वातावरण निर्माण गरी समृद्ध नेपाल निर्माण अभियानमा एनआरएनलाई सहभागी बनाउने प्रण गर्दै उनले प्रवासमा रहेको दक्ष नेपाली मानव शंसाधनलाई समृद्ध नेपाल निर्माणमा सक्रिय सहभागी बनाउन ठोस योजना बनाइ अघि बढ्ने प्रतिज्ञा गरे ।
एनआरएनको अन्तर्राष्ट्रिय अभियानमा अमेरिका र यस क्षेत्रका नेपालीहरुको प्रभावकारी उपस्थिति र भूमिका प्रस्तुत गर्न उनले विश्वभरि छरिएर रहेका एनआरएनलाई अमेरिकी एनआरएनसँग एउटै सूत्रमा गाँसी अगाडि बढ्ने बताए ।
घोषणासभामा एनआरएन उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा उम्मेद्वारी दिएका वर्तमान उपक्षेत्रीय संयोजक सोनाम लामाले क्षेत्रीको उम्मेद्वारीको औपचारिक रुपमा समर्थन गर्दै उनलाई जिताउनका लागि आफू चुनाव क्याम्पेनरको भूमिका निर्वाह गर्ने बताए । उनले १० हजारभन्दा बढी सदस्य रहेको अमेरिकाको एनआरएन एनसीसीले केन्द्रीय नेतृत्व पाउनुपर्ने दावी गर्दै त्यसका लागि क्षेत्री उपयुक्त उम्मेद्वार भएको बताए ।
घोषणासभामा अमेरिकास्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुले सम्वोधन गर्दै क्षेत्रीको उम्मेद्वारीको समर्थन गरे र उनलाई जिताउन आआफ्नो ठाउँबाट लागिपर्ने बताए । यसरी प्रतिवद्धता व्यक्त गर्नेहरुमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, निवर्तमान वरिष्ठ उपाध्यक्ष श्रीपराजुली, एनआरएन अमेरिकाकी सक्रिय सदस्य सुनिता शर्मा, सिन्धु समाजका अध्यक्ष वंशलाल तामांग, आदिवासी जनजाति महासंघ अमेरिकाका कोषाध्यक्ष तेन्जिंग उक्याव, डेमोकेटिक युथ फ्रन्टका अध्यक्ष प्रमोद सिटौलालगायत थिए ।
घोषणासभा लगत्तै आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले पत्रकार तथा सञ्चारकर्मीका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । यस क्रममा उनले आफू क्षेत्रीय संयोजकमा सोनाम शेर्पालाई जिताउन तन, मन र धनले लागिपर्ने बताउँदै उहाँबाट पनि आफूलाई जिताउन त्यही किसिमको प्रतिवद्धता प्राप्त भएको बताए । यो सहकार्य अमेरिकाको एनआरएनका लागि मात्र हैन, एनआरएनको अन्तर्राष्ट्रिय अभियानका लागि पनि फलदायी हुने धारणा उनले राखे ।
केही समययता एनआरएन उत्तर अमेरिका क्षेत्रीय संयोजकमा उम्मेद्वारी दिने चर्चामा रहेका क्षेत्रीले एनआरएन अमेरिका र अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरुको चाहना अनुसार सो पदमा सोनाम लामालाई समर्थन गर्दै आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए ।
यसैबीच उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक पदमा उम्मेद्वारी दिएका एसी शेर्पाले पनि उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकोमा क्षेत्रीलाई शुुभकामना दिदै उनको उम्मेद्वारीको समर्थन गरेका छन् । वर्तमान आइसीसी सदस्य शेर्पाले क्षत्री उक्त पदका लागि योग्य भएको प्रतिक्रिया दिदै उनको विजयले एनआरएन आइसीसीमा अमेरिकाको उचित प्रतिनिधित्वको ढोका खुल्ने बताए ।















प्रतिक्रिया