काठमाडौं, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत सुब्रमन्यम जयशंकरले दिगो संविधानबाटै नेपालको विकास र शान्तिमा योगदान पुग्ने बताएका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि आज बिहान त्रिभुवन विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सबै पक्षलाई समेटेर संविधान जारी गर्न सके त्यो दिगो हुने बताए ।
आफूले राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत राजनीतिक दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको उल्लेख गरे ।
प्रधानमन्त्री मोदीको विशेषदूतको जिम्मेवारीमा नेपाल आएका विदेशसचिव जयशंकरलाई विदाइ गर्न विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, नेपालका लागि भारतीय राजदूत रणजित राय तथा भारतीय राजदूतावासका उच्च अधिकारीको उपस्थिति थियो ।












प्रतिक्रिया