१० कार्तिक २०८३, मंगलबार

सिडिफोर मेसिन मर्मत नहुँदा एचआइभी संक्रमितको उपचारमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HIV-AIDS– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २८ भदौ । सिडि फोर काउन्टको लागि रुकुमका सरोज गिरी (नाम परिवर्तन) लाई गत मंगलबार बर्दिया जिल्ला अस्पताल गुलरिया जानु प¥यो । एचआइभी संक्रमणले थला परेका उनी उपचारका लागि २ हप्ता अघि रुकुमबाट नेपालगन्ज आए । उपचारपछि उनी निको त भए तर रोगसँग लड्ने क्षमता छ छैन भन्ने जान्नका लागि गरिने सिडि फोर काउन्ट नेपालगन्जमा नभएपछि उनलाई बर्दिया जानु प¥यो ।

सिडि फोर काउन्टका लागि जिल्ला अस्पताल बर्दिया गएका गिरी प्रतिनिधि पात्रमात्र हुन् । भेरी अञ्चल अस्पतालमा रहेको सिडि फोर काउन्ट मेसिन एक वर्षअघि विग्रिएपछि बाँके र उपचारका लागि नेपालगन्ज आउने अन्य जिल्लाका एचआइभी संक्रमितलाई बाहिरी जिल्लाका अस्पतालमा जानु परेको हो ।

रोगसँग लड्ने क्षमता जाँच गर्न एचआइभी संक्रमितले ६/६ महिनामा सिडि फोर काउन्ट गराउनु पर्ने हुन्छ । संक्रमितको शरिरमा ५ सयभन्दा कम सिडि फोर भए उसले एआरभी औषधि सेवन गर्नुपर्ने हुन्छ ।

तर, बाँकेका एचआइभी संक्रमित र उपचारका लागि नेपालगन्ज आएका संक्रमितले समयमा सिडि फोर काउन्ट गराउन नपाउँदा सास्ती खेपिरहेको असहाय सेवा संघका सिनियर सुपरभाइजर रविन्द्र सिंह राठौरले बताए । उनले भने, ‘आँगनमा भएको सेवा लिन नपाएपछि संक्रमितहरु बाहिरी जिल्लामा जान बाध्य छन् ।’

भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादवले पनि सिडि फोर काउन्ट मेसिन विग्रिएकोले सेवा दिन नसकिएको बताए । आफू मेडिकल सुपरिटेन्डेन्ट भएको ५/६ दिनमै मर्मतका लागि स्वास्थ्य मन्त्रालयमा अनुरोधसहितको पत्र पठाएको उनले बताए ।
‘म मेडिकल सुपरिटेन्डेन्ट भएको एक हप्ताभित्रै मर्मतका लागि मन्त्रालयसँग अनुरोध गरेको थिएँ । तर, कुनै प्रतिक्रिया (जवाफ) आएको छैन,’ डा. यादवले भने, ‘थोरै रकमले मर्मत हुने भए अस्पतालले पहल गर्ने थियो ।’

सिडि फोर मेसिन मर्मतका लागि काठमाडौँबाट टोली आएपनि नसकेर फर्किएको डा. यादवले बताए । उनले भने, ‘मर्मतका लागि ९/१० जनाको प्राविधिक टोली आएको थियो । नसकेर फर्केर गयो ।’

बाँकेमा मात्र ६ सय ९३ जना एचआइभी संक्रमित छन् । ति मध्ये करिव २ सयजनाले नियमित रुपमा एआरभी औषधि सेवन गरिरहेको नागार्जुन डेभलपमेन्ट कमिटी नेपालगन्जका संयोजक श्रीधर पोख्रेलले बताए । ‘भेरी अञ्चल अस्पतालमा भएको मेसिन विग्रिएकोले यहाँका संक्रमित बाहिर जान बाध्य छन् ।’

भेरी अञ्चल अस्पतालमा भएको सिडि फोर काउन्ट मेसिन विग्रिएकोले बाँके र उपचारका लागि नेपालगन्ज आएका एचआइभी संक्रमितहरु बर्दिया, सुर्खेत र दाङस्थित जिल्ला अस्पतालमा जाने गरेका छन् । आर्थिक अभावका कारण कतिपय एचआइभी संक्रमित सिडि फोर काउन्टका लागि बाहिरी जिल्लामा जान नसकेको असहाय सेवा संघका सिनियर सुपरभाइजर रविन्द्र राठौरले बताए ।

नेपालगन्जमा भएको मेसिन विग्रिएपछि अनेकौँ समस्या झेलीरहेका एचआइभी संक्रमितमाथि आर्थिक संकट समेत थपिएको छ । ‘पैसा खर्च, समयको बर्बाद र अनाहकमा दुख पाउनुपर्ने अवस्था सिर्जना भएको छ,’ राठौरले भने ।

बाँकेमा ६ भन्दा बढी सरकारी र गैरसरकारी संस्थाले यौन रोग र एचआइभी जाँच गर्दै आएका छन् । असहाय सेवा संघ, नागार्जुन डेभलपमेन्ट, भेरी अञ्चल अस्पताल, एन–सार्क, पश्चिम तारा नेपाल, नेपाली सेना लगायत कार्यालयले एचटिसी सेन्टर मार्फत एचआइभी परिक्षण र परामर्श दिँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन राम बहादुर चन्दले जानकारी दिए ।

जनस्वास्थ्यले जिल्लाका दुई स्थानमा एसटिआई (यौन रोग जाँच) सेवा सञ्चालन गर्ने कार्यक्रम रहेपनि रकम अभाव र फितलो सरकारी नीतिका कारण केन्द्र स्थापना गर्न नसकिएको चन्दले बताए । उनले भने, ‘एचआइभी/एड्स क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण राम्रो भएन ।’

पछिल्लो समय अन्तर्राष्ट्रिय दातृ निकायले एचआइभी/एड्सको क्षेत्रमा लगानी गर्न छोडेकोले संक्रमितको उपचार र पुनस्र्थापनामा समस्या आएको जुनकिरी बाँकेका कार्यक्रम संयोजक युद्ध पछाईले बताए । एचआइभी/एड्सको क्षेत्रमा कार्यरत सराकारी तथा गैरसरकारी संस्था बिच सोमबार समन्वय बैठक बसी आगामी दिनमा गर्ने कामका बारेमा छलफल भएको थियो ।

छलफलमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. बिनोद गिरी, एचआइभी/एड्स फोकल पर्सन राम वहादुर चन्द, असहाय सेवा संघका संयोजक धर्मराज जोशी, पश्चिम तारा नेपालका संयोजक सुदिप भट्ट, नागार्जुन डेभलपमेन्टका श्रीधर पोख्रेल लगायतको सहभागिता रहेको थियो ।