– विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, २५ भदौ । सूईद्वारा लागूऔषध सेवन गर्ने मध्ये ८६ जनाले मेथाडोन (मौखिक उपचार) विधि अपनाइरहेका छन् ।
सूईद्वारा लागूऔषध सेवन गर्नेलाई एचआइभी, हेपाटाइटिस र यौनजन्य रोगबाट जोगाउन मेथाडोन विधि सञ्चालनमा ल्याइएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा चेन्ज टिमले लागूऔषध प्रयोगकर्तालाई उक्त सुविधा दिँदै आएको कार्यक्रम संयोजक नयनराज रावलले जानकारी दिए ।
मेथाडोन प्रयोग गर्ने मध्ये ४ जना महिला छन् । पहिले ९ जना महिला थिए । अहिले घटेर ४ जना मात्र छन् । ‘कसैको विवाह भयो, एकजनाको मृत्यु भयो, एकजना पक्राउ परेर जेलमा छिन्,’ कार्यक्रम संयोजक रावलले भने ।
युवा लागूऔषध दुब्र्यसनमा फसिरहेको उल्लेख गर्दै उनले निशुल्क उपचार सेवाले घरेलु हिंसा, अपराधिक गतिविधिमा कमी, पैसा र समयको सदुपयोग भइरहेको बताउँछन् । उनले भने, निशुल्क सेवा पाएपछि चोरी, डकैती नगर्ने, समयमा खान पाइने भएकोले समयको बचत भई काममा बाधा नपुग्ने र यसले जीवन शैलीमा समेत सहजता ल्याउने गरेको छ ।’
बाँकेमा लागूऔषध प्रयोगकर्ताको एकीन विवतरण नभएपनि तीन वर्षअघि लिइएको तथ्यांक अनुसार करिव ४ हजार ५ सयको हाराहारीमा रहेका थिए । बाहिरको बातावरण हेर्दा अहिले लागूऔषध प्रयोगकर्ता घटेको जस्तो देखिएको उनले बताए । ‘नयाँ लागूऔषध प्रयोगकर्ता खुलेर आउन नसकेको, धेरैजसो जेल परेको, केहीको मृत्यु भइसकेको र केहीको पुनर्स्थापना भइसकेकोले पनि घटेको जस्तो देखिएको हो,’ रावलले भने ।
लागूऔषध उन्मुलनका लागि राज्य गम्भिर नभएको उल्लेख गर्दै उनले सरकार न्यूनिकरणमा मात्र सीमित भएकाले समस्या उत्पन्न भएको औँल्याए । ‘कन्ट्रोलको नाममा राज्यले पक्राउ गर्दै थुन्दै गरेको छ । जेलमा हालेर केही दिन दिनका लागि समस्या समाधान त होला, तर दिर्घलिकन हुन सक्दैन,’ उनले भने, ‘अहिले जेलमा हालेर घटाएको जस्तो देखाउने काममात्र भएको छ ।’
लागूऔषध प्रयोगकर्ताको परिभाषा स्पष्ट नभएको उनले बताए । ‘लागूऔषध वा मादक पदार्थको नियन्त्रणमा म छु भने म पनि लागूऔषध दुब्र्यसनीको सूचीमा पर्छ,’ आफूलाई मादक पदार्थको दुब्र्यसनी भनेर चिनाउने रावलले भने, ‘सरकारले लागूऔषध दुब्र्यसन रोकथाम गर्न विशेष नीति ल्याउन आवश्यक छ ।’
खुल्ला सीमानाका कारण लागूऔषध दुब्र्यसनीको संख्या बढ्दै गएको बताउँदै उनले लागूऔषध कारोवारीको सञ्जाल ठूलो भएकोले लागूऔषध रोकथाम गर्न समस्या भएको बताए ।
लागूऔषध प्रयोगकर्तालाई परिवार, समाज र साथि भाईले राम्रो ब्यवहार गर्न आवश्यक भएको औँल्याउँदै रावलले प्रशंसा, आध्यात्मिक चिन्तन र सहयोगले ब्यवहार सुधार्न सहयोग गर्ने उनको भनाई छ । उनले भने, ‘प्रयोगकर्ताले चाहेको किनिदिएर मात्र हुँदैन, उसको बारेमा राम्रो कुरा गरिदिने र हौसला बढाउने काम गर्नुपर्छ ।’
पारिवारका सदस्यले खाएको देखेर, धार्मिक एवम् सांस्कृतिक परिवेश, बढ्दो आधुनिकता र प्रविधिको प्रयोग, फिल्म, वेबसाइड, साथीभाईको संगत र दवावका कारण युवाहरु लागूऔषधमा फस्ने गरेको उनले औँल्याए । भने, धार्मिक एवम् सँस्कृतिमा जाँड, रक्सी खाने, भगवानको नाममा गाजा, भाङ्ग खाने प्रचलनले युवा लागूऔषधमा फसेको पाइन्छ । भने, आफूलाई अरुभन्दा भिन्दै देखाउने बढ्दो आधुनिकताका कारण पनि धेरै युवा यसमा फसेको पाइन्छ ।’
उनले लागूऔषध न्यूनिकरणका लागि एक्लो प्रयासले सम्भव नहुने भएकोले सामूहिक पहलको आवश्यकतामा जोड दिए ।
















प्रतिक्रिया