
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसकी सभासद् पार्वती डिसी चौधरीले संविधानसभा छाडेर बाहिरिएका सबै दलहरूलाई फिर्ता हुन आग्रह गर्नुभएको छ ।
संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको दफावार छलफलमा सहभागी हुँदै सभासद चौधरीले संविधानसभाबाटै आफ्ना अधिकारलाई संस्थागत गराउनुपर्ने बताउनुभयो ।
‘आन्दोनलरत साथीहरूलाई भन्न चाहन्छु की यही संविधानसभाबाटै आफ्ना अधिकारलाई संस्थागत गरिनुपर्छ’, सभासद् चौधरीले भन्नुभयो, ‘संविधानसभामा फिर्ता आउनुस् यहीबाटै लडेर मागलाई स्थापित गरौँ ।’
भदौ २५ आफ्नो गृह जिल्ला दाङमा हुन थालेको थारुहरूको आमसभाका लागि निम्ता आएको बताउनुभएकी कांग्रेस सभासद चौधरीले भन्नुभयो, ‘संविधानसभाको ऐतिहाँसिक बैठकलाई ठूलो मानेर म गइन । थारुहरूका अधिकारका लागि म संविधानसभामै लडेर स्थापित गराउन लाग्नेछु । मेरो पार्टी कांग्रेसले थारुका मागलाई सम्बोधन गर्न ध्यान दिनेछ ।’
उहाँले थारुहरूको मागलाई अहिले पनि सम्बोधन गर्न नसकिएको भन्दै कांग्रेसले छुटेका विषयलाई पछि टुङ्गो लगाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
‘छुटेका अधिकार तथा हकअधिकार पछि पनि संशोधन गरेर राख्न सकिन्छ’, सभासद चौधरीले भन्नुभयो ।
२०६२/०६३ को आन्दोलनबाट प्राप्त अधिकार पनि गुम्ने हो की भने आशंका रहेको भन्दै सभासद चौधरीले भन्नुभयो, ‘संविधानसभा छाडेर गएका साथीहरू आउनुस् यही संविधानसभाबाट अधिकार स्थापित गरौँ ।’
कांग्रेस सभासद चौधरीले कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ, एमालेका मुख्य सचेतक अग्नि खरेल र एमाओवादीका मुख्य सचेतक गिरिराजमणि पोख्रेलले संयुक्त रुपमा पेश गरेको संविधानको संशोधन प्रस्तावलाई समर्थन गर्नुभएको थियो ।















प्रतिक्रिया