५ कार्तिक २०८३, बिहिबार

घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको हत्या योजनाको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं- सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठ (घैंटे)को इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ पक्राउ परेका छन्। इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको दैनिकी निगरानी गरी सूचना दिएको र हत्या योजनामा संलग्न रहेको आरोपमा दुवै जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
भदौ ३ मा कपुरधारास्थित घर अगाडिको खुला ठाउँमा महाशाखाको प्रहरी टोलीको इन्काउन्टरमा घैंटे मारिएका थिए। उनको समूहका केही व्यक्ति इन्काउन्टरको बदला लिन प्रहरीको हत्या गर्ने योजना बुनेको सूचना महाशाखामा आएपछि प्रहरीले पनि निगरानी बढाएको थियो।
प्रहरीस्रोतका अनुसार घैंटेको इन्काउन्टरपछि उनको समूहका दोस्रो व्यक्ति युवराज गुरुङ (सानुभाइ)ले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बुनेका थिए। विभिन्न आपराधिक घटनामा प्रहरीको खोजी सूचीमा रहेका उनी प्रहरीले आफूलाई पक्राउ गर्नुअघि इन्काउन्टरमा संलग्न एक प्रहरी कर्मचारीको हत्या गरी आत्मसर्मपण गर्ने योजनामा रहेको सूचना प्रहरीसम्म आइपुगेको थियो।

प्रहरीले सूचना संकलन गर्ने र सूचना लिने दुई जना पक्राउ गरे पनि योजनामा प्रत्यक्ष संलग्नलाई भने पक्राउ गर्न सकेको छैन। प्रहरीले ३ वर्ष अघिदेखि घैंटेका सहयोगी सानुभाइको खोजी गर्दै आए पनि पक्रन सकेको छैन।

घनाबस्तीबीच स्थानीयकै अगाडि घैंटे मारिएकाले सो अपरेसनमा संलग्न अधिकांश सुरक्षाकर्मीको पहिचान सार्वजनिक भएको थियो। स्रोतका अनुसार उनीहरूले इन्काउन्टरका बेला फिल्डको नेतृत्व गरेका प्रहरी कर्मचारी लक्षित गरी हत्या योजना बनाएका थिए।

अनुसन्धानमा घैंटे समूहका साजन गुरुङले कारजोनलाई प्रहरी गतिविधि निगरानी गर्न खटाएको सूचना आएपछि प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको थियो। पक्राउ परेका कारजोनको मोबाइलमा रहेका एसएमएस हेर्दा उनले घैंटेको इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको गतिविधिबारे संवेदनशील सूचना साजनलाई पठाएको पाइएको महाशाखाका एक अधिकारीले जानकारी दिए।

‘केही व्यक्तिले प्रहरीकै गतिविधि निगरानी गरिरहेको सूचना आएपछि हामीले पनि उनीहरूलाई निगरानीमा राखेका थियौं,’ महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नागरिकसँग भने, ‘कारजोन पक्राउपछि केही महत्वपूर्ण सूचना आएको छ, अहिले हामी गम्भीर अनुसन्धानमा छौं।’

चरी समूहका साजन धादिङमा पहलमान तामाङ हत्याका समेत आरोपी हुन्। सडक निर्माण गर्ने ठेकेदारसँग पैसा असुल्ने विषयमा एमाले र माओवादीबीच विवाद भएपछि वाइसिएलका तामाङ २०७० माघ २४ मा धादिङको सेमजोङमा मारिएका थिए।

धादिङमा प्रहरीले खोज्न थालेपछि काठमाडौं छिरेका साजन नयाँबजार क्षेत्रमा बस्दै आएका थिए। एक वर्षअघि प्रहरी इन्काउन्टरमा चरी मारिएपछि उनी घैंटे समूहका लागि काम गरिरहेको देखिएको एसएसपी खनालले जानकारी दिए।

न्युरोडबाट पक्राउ परेका साजनको साथबाट प्रहरीले हेमन्त गुरुङको नाममा भारतीय निर्वाचन आयोगको आइडीकार्ड समेत फेला परेकाले काठमाडौंमा ठूलै घटना मच्चाएर उनी भारत भाग्ने योजनामा रहेको प्रहरी निष्कर्ष छ।

‘ठेकेदारसँग पैसा असुल्ने विषयमा दुई पक्षबीच विवाद बढेपछि पहलमानको हत्या भएको देखियो,’ खनालले भने, ‘हत्यापछि साजन दुई वर्ष काठमाडौंमा बसेकाले उसको गतिविधि र संलग्नता अनुसन्धान गरिरहेका छौं।’

प्रहरी अधिकारीका अनुसार कारजोनले घैंटेको इन्काउन्टरमा संलग्न प्रहरीको गतिविधि निगरानी गरी सूचना दिन अह्राए अनुसार आफूले काम गरेको प्रहरीसमक्ष स्वीकारे पनि साजन भने आफूलाई यसबारे केही जानकारी नभएको दाबी गरिरहेका छन्। प्रहरीले प्रहरी कर्मचारीका गतिविधिबारे कारजोनले पठाएका महत्वपूर्ण एसएमएस भने फेला पारिसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।