काठमाडौं, २१ भदौ । नेपाल हिन्दु युवा मञ्चले आयोजना गरेको नेपाल हिन्दु आमरण अनसनको सोमबार आठौँ दिनसम्म आइपुग्दा अनसनकारीहरुको स्वास्थ्यस्थिति एकदमै नाजुक बनेको छ ।
अनसनमा बसेकाहरूको स्वास्थ्य अवस्था विग्रिएपछि उपचार गरिएको छ । अनसनकारीको स्वास्थ्य विग्रिए पनि सरकार र सरोकारवालाहरूको ध्यान पुग्न सकेको छैन ।
अनसनमा उल्लेखनीय सन्तमहन्त, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणहरुले ऐक्यवद्धतासमेत जनाएका छन् ।
जगतबहादुर थापाले ९४ प्रतिशतभन्दा बढी ओमकार परिवार भएको हिन्दु भूमिमा हिन्दुत्वकै माग गर्दै अनसन बस्ने कार्य बिडम्वना रहेको बताउनुभयो । उहाँले यस अभियानलाई धर्मयुद्धको संज्ञा दिदैँ हामी सबै नेपालीको एउटै माग–हिन्दुराष्ट्र घोषणा, रहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ दार्शनिक मोहन लामाले धर्मका विभिन्न पाटाहरु जस्तै बौद्घमार्गी, वैष्णवमार्गी, कृष्णमार्गी आदि सबै हिन्दु सभ्यताका उपज रहेको बताउनुभयो । उहाँले सम्पूर्ण ॐकारको परिवारभित्र आवद्घ रहेको जनाउनुभयो । उहाँले संविधनामा धर्मनिरपेक्षतालाई राख्नु भनेको गाईको ज्यानमा गधाको टाउको राख्न खोज्नु सरह रहेको बताउनुभयो ।
ज्योतिषशास्त्री ओजराज लोहनीले भन्नुभयो, ‘अमेरीकामा वाइवल छोएर कसम खाएर मात्र राष्ट्रपति हुनुपर्ने, चीनमा बौद्धधमालम्बी हुनुपर्ने प्रावधान छ । ९४ प्रतिशत ॐकार परिवार भएको देशमा हिन्दुराष्ट्र कायम गर्न किन नहुने ?’,
चिन्तामणि योगीले जुनसुकै सम्प्रदाय, जाति र पार्टीको भए पनि यो नेपाली माटो र धर्मका लागि हामी जाग्नुपर्ने बताउनुभयो । उहाँले हिन्दुराष्ट्रको संरक्षण गर्नु भनेको हाम्रा ऋषिमुनिहरुको तपोभूमि नेपाल आमाको संरक्षण गर्नुसरह भएको बताउनुभयो ।















प्रतिक्रिया