३० आश्विन २०८३, शुक्रबार

देशमा सैनिक शासनको खतरा बढ्यो, जनमतसंग्रह गर्न राप्रपा नेपालको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1काठमाडौँ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापाले नयाँ संविधान जारी गर्ने पूर्व सन्ध्यामा जनतामा असन्तुष्टि, आक्रोश र निराशा बढेको बताउनुभएको छ ।

पार्टीले आज नयाँ बानेश्वरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनताले संविधानसभामा जनप्रतिनिधिबाट लेखिने नयाँ संविधानले मुलुकमा विकास तथा समृद्धिको परिकल्पना गरेको भए पनि केही नेताको अकर्मण्यता तथा उनीहरुका विभिन्न स्वार्थका सम्झौता गरी ल्याउन लागेको संविधानले देश र जनतालाई फाइदा नपुग्ने बताउनुभयो ।

उहाँले बहुसङ्ख्यक जनता हिन्दू भएको मुलुकमा अहिले धर्म निरपेक्ष कायम गरिए देशमा धार्मिक द्वन्द्व, विदेशी हस्तक्षेप र सैनिक शासनको खतरा बढ्ने औँल्याउँदै धार्मिक विषयको छिनोफानो गर्न जनमत लिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका उपाध्यक्ष राजीव पराजुलीले पहिलो संविधानसभाको बैठकदेखि नै पार्टीले हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको बताउँदै धर्म निरपेक्ष दोस्रो जनआन्दोलनले माग नै नगरेको विषयलाई अहिले संविधानमा कायम गर्न नहुने बताउनुभयो ।

सहायक महामन्त्री गीताभक्त जोशी, महिला विभाग प्रमुख एवम् सभासद् कुन्ती शाही, प्रवक्ता विष्णु भट्टराई, नेता देवेन्द्र प्रधानलगायतले मुलुकमा सनतान हिन्दूराष्ट्र कायम गरी सबै धर्मलाई सर्वधर्म समभावको व्यवहार गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पार्टीले सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको थियो । यसअघि बबरमहलमा कार्यकर्ता भेला भई संविधानसभा भवन अगाडि पुगेर प्रदर्शन गरेका थिए । रासस