– नरेश केसी
भैरहवा, २० भदौ । राजनीतिक दलहरुले शैक्षिक प्रतिष्ठानलाई बन्धक बनाएर आफ्नो अभिष्ट पुरा गर्न खोज्नु राजनीतिको नाममा अपराधीकरण भएको शैक्षिक संस्था सन्चालकहरुले तर्क गरेका छन् ।
निजी तथा आवसीय विद्यालय सन्चालकहरुको संस्था प्याब्सन तथ एनप्याब्सन र उच्च मावि सन्चालकहरुको संस्था हिसानले शनिवार भैरहवामा पत्रकार सम्मेलनगरी विभिन्न बहानामा विभिन्न दल समुहले बारम्बार विद्यालय तथा कलेज बन्द गर्नेगरी कार्यक्रम राख्दा विद्यार्थिहरुको पढ्न मौलिक अधिकार कटौति भएको बताए ।
हिसान, प्याब्सन तथा एनप्याब्सनले संयक्त रुपमा शनिवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्याब्सनका महासचिव डिके ढुंगानाले आन्दोलनका नाममा विद्यालय बन्धक बनाइनु राजनीतिक अपराधीकरण भएको जनाउदैं भने “जसले बन्द हड्ताल गरे पनि विद्यालय बन्द गरिनु हुँदैन । यदि कसैले जवरजस्ती शैक्षिक प्रतिष्ठान बन्द गर्न खोज्छ भने त्यसले चर्को मूल्य चुकाउनु पर्दछ ।”
महासचिव ढुंगानाले एक दिन विद्यालय बन्द हुदां विद्यार्थिहरुलाई कराडौं घण्टा समय नोक्सान हुनेहुदां राजनीतिको नाममा शैक्षिक प्रतिष्ठान बन्द गर्न नहुने बताउदैं भने “एक दिन विद्यालय बन्द हुदां ४ करोड ८० लाख घण्टा नोक्सान हुन्छ जुन अर्कोदिन पुरा हुन सक्दैन ।”
विद्यालयमा पढ्ने हाम्रा छोराछोरी मात्रै होइनन् आन्दोलनकारीका छोरा छोरी पनि हुन । त्यसैले आन्दोलनरत पक्षले विद्यालय बन्द गर्नु भनेको आफ्ना छोराछोरीलाई धोखा दिनु पनि हो भन्दै महासचिव ढुंगानाले आन्दोलनको नाममा विद्यालय बन्द नगर्न आग्रह गरे ।
प्याब्सन केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्ययले शान्ति क्षेत्रको रुपमा स्थापीत भईसकेका विद्यालयहरु कुनैपनि बहानामा विद्यालय बन्द नगरिने जनाए । विद्यार्थिको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्दै विद्यालय बन्द गर्नु गैर न्यायीक भएको उनको तर्क थियो ।
प्याब्सनका केन्द्रिय सदस्य विष्णु पन्थिले विद्यालयलाइ बन्द गर्न बाध्य पारिनु दलहरुले आफुले गरेको प्रतिबद्धताको विपरित भएको जनाउदै भने “सबै दल समुहले विद्यालय शान्ति क्षेत्र हो भनी प्रतिबद्धता गरेता पनि आफ्नै हस्ताक्षर विरुद्ध बन्द गरिनु लज्जासपद भएको छ । अब हामी आइतबारदेखी विद्यालय कलेज खोल्छौं । कसैले रोक्छ भने त्यसको जवाफ राम्रै पाउनेछ ।”
पत्रकार सम्मेलनमा बोल्दै अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले आइतबारदेखी विद्यालय सन्चालकलाई विद्यालय खोल्न आग्रह गदै भने “तपाईहरु विद्यालय सन्चालन गर्नुस् हामीहरु बालबालिका पठाउंछौं जसले अवरोध गर्छ त्यसलाई हामी प्रतिकार गर्न तयार छौं ।” कार्यक्रममा हिसानका अध्यक्ष अनन्त प्रसाद शर्माले कलेज विद्यालय बन्द गराएर आन्दोलरत पक्षले तमासा देखाएको आरोप लगाउदै भने “काठमाण्डौं पोखरा लगायतका जिल्लामा निधक्क कलेज विद्यालय चलेका छन् । रुपन्देहीलाई नजरबन्द गरेर आम हड्तालको नाममा राजनीति गरिनु आन्दोलनकारीकोलागी पनि बेठीक हो ।”
शान्ति समाजका केन्द्रिय सचिव गोबिन्द खनालले शान्ति क्षेत्र विद्यालयलाई अशान्ति पार्न खोजिनु अराजकताको पराकाण्ठा भएको बताए ।सिद्धार्थ नागरिक समाजका अध्यक्ष अरुण प्रताव राणाले बन्दको नाममा नागरिकको मौलिक अधिकार हनन हुने तरिकाले गतिविधी भएकोप्रति आक्रोस व्यक्त गरे । प्याप्सनका रुपन्देही सचिव महेश भुर्तेलको सन्चालनमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा प्याब्सन कार्यवाहक अध्यक्ष लेखनाथ पौडेल, सामुहिक विद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेल, हिसान उपाध्यक्ष शुसील ढकाल, हिसान पूर्व अध्यक्ष टुक बहादुर क्षेत्री, प्याब्सन पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानदेव हटुवाल, प्याबसन सल्लाहकार गंगा शाही, प्याब्सन पुर्व अध्यक्ष यमबहादुर रसाईली, दामोदर भुसाल, एनप्याब्सन सल्लाहकार राजु ढकाल लगायतको उपस्थिीति रहेको थियो ।
संयुक्त मधेसी मोर्चा र थरुहट सर्घष समितिको अनिश्चितकालिन बन्दका कारण गत साउन २७ देखी रुपन्देहीको भैरहवा, मर्चवार, लुम्बिनी, धकधई लगायत दक्षिणी क्षेत्रका विद्यालयहरु बन्द रहदै आएका छन् ।















प्रतिक्रिया