कावासोती, २० भदौ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित क्षेत्रको समय सात दिन थप गरेको छ । यो तेस्रो पटक थपिएको समय हो ।
यही भदौ ७ गते बेलुकीदेखि जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा भदौ २७ गतेसम्म समय थप गरिएको हो । जिल्लामा सुरक्षा चुनौती महसुस भइहरेकाले निषेधित क्षेत्र घोषणाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्वपश्चिम लोकमार्गको भुताहादेखि सुनवलसम्मको १२ किलो क्षेत्र यसको दायाँबायाँ पाँच सय मिटर, भैरहवा–भूमही सडकखण्डको बालगोविन्द पेट्रोल पम्पको पश्चिम मञ्जरिया चोक हुँदै रामग्राम नगरपालिकाको दक्षिण भेगबाहेक रामग्राम नगरपालिकाको सबै क्षेत्र, परासीको बुद्ध चोकदेखि सुनवल चोकसम्म दायाँबायाँ पाँच सय मिटर क्षेत्रमा एकै ठाउँमा पाँचजना भन्दा बढी भेला हुन, सभा सम्मेलन, प्रदर्शन गर्न, जुलुस धर्ना गर्न नपाउने निर्णय गरेको हो ।
जिल्लामा मधेसी मोर्चा र थरुहट थारुवान सङ्घर्ष समितिका कारण बन्दको प्रभाव परेको छ । दाउन्ने पूर्वका बासिन्दा भने सीमाङ्कनमा चार प्रदेशमा परेको खुसियालीमा मैनबत्ती बाल्ने, स्वागत ¥याली निकाल्ने लगायतका काम गरिरहेका छन् ।
बन्दका कारण एक महिनादेखि परासी क्षेत्रमा विद्यार्थीले पढ्न पाएका छैनन् । जिल्लाको अवस्था सहज भएपछि निषेधित क्षेत्र हट्ने स्थानीय प्रशासनले जनाएको छ । जिल्लाको गैँडाकोटदेखि सुनवलसम्मको क्षेत्रमा पसल, विद्यालय, सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । रासस















प्रतिक्रिया