काठमाडौँ, २० भदौ । अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई प्राविधिक रूपबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित ‘नेपालको साइबर सुरक्षा र चुनौती’ विषयक कार्यक्रममा अर्थमन्त्री डा महतले वर्तमान अवस्थामा साइबर संसारबाट कोही मुक्त हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले देशलाई प्राविधिक तवरले सक्षम बनाउन सरकारले जस्तोसुकै भूमिका खेल्न तयार रहेको बताउनुभयो ।
एनेकपा (माओवादी)का नेता अग्नि सापकोटाले क्षेत्रमा प्रविधिक पक्ष कमजोर भए पनि नेपाली सुरक्षा प्रशासनले विपद् व्यवस्थापनका खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा तीर्थराज खनियाले नेपाल विस्तारै सञ्चार प्रविधिको युगमा प्रवेश गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले धेरैजसा अपराध साइबरसँग जोडिएको भन्दै नियन्त्रणका लागि समयमै ध्यान दिनु आवश्यक रहेको औँल्याउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध देशमा बढ्दै गएको भन्दै यसलाई रोक्न छुट्टै कानुन आवश्यक रहेको बताउनुभयो ।
‘एउटै ‘पासवर्ड’ लामो समयसम्म प्रयोग नगरौं’
कार्यक्रममा अमेरिकाको वासिङ्टन डिसीमा विद्यावारिधि गर्नुभएका डा रामहरि सुवेदीले आफ्नो विद्यावारिधिको क्रममा अध्ययन गरेको साइबर अपराधसम्बन्धी पाठ्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिका क्रममा सुवेदीले विदेशको तुलनामा नेपालमा साइबर अपराध बढेको भन्दै सुरक्षाका दृष्टिले एउटै ‘पासवर्ड’ लामो समयसम्म प्रयोग नगर्न प्रयोगकर्तालाई आग्रह गर्नुभयो । रासस















प्रतिक्रिया