बागलुङ, २० भदौ । प्रमुख तीन दलले बागलुङ नटुक्र्याउने निर्णय गरेपछि दुई साता लामो बागलुङ बन्द फिर्ता भएको छ । सात प्रदेशको सीमाङ्कनमा बागलुङ दुई प्रदेशमा विभाजन भएपछि बागलुङवासी आन्दोलित थिए ।
नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)ले बागलुङलाई नटुक्र्याई प्रदेश नं ४ मै राख्न संशोधन प्रस्ताव दर्ता गरेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको हो । बन्द फिर्ता भएपछि बागलुङको जनजीवन सामान्य बनेको छ । भदौ ५ गतेदेखिको बन्दले ठप्प बनेको बजार, यातायात, उद्योग, व्यवसाय, शिक्षण संस्था सञ्चालनमा आएका छन् ।
लामो बन्दको मारमा परेका सर्वसाधारणले राहत महसुस गरेका छन् । सार्वजनिक सेवा प्रदायक सरकारी कार्यालय, वित्तीय संस्थामा सेवाग्राहीको भीड लागेको छ । सदरमुकामलगायत ग्रामीण भेगका व्यापारिक केन्द्रमा पनि चहलपहल बढेको छ । जिल्लाबाट लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायातका साधनमा यात्रुको चाप देखिन्छ ।
प्रमुख दलले बागलुङ टुक्र्याउने निर्णय सच्चाएपछि आन्दोलन फिर्ता लिइएको आन्दोलन परिचालन समितिले जनाएको छ । दलहरुले संविधानको विधेयकमाथिको संशोधन प्रस्तावमा बागलुङलाई प्रदेश नं ४ मै राख्ने निर्णय गरेका हुन् । संशोधन प्रस्तावमाथि छलफल सुरु भएपछि दुई तिहाइले पारित गर्ने बेला रचनात्मक रुपमा दबाब दिइने उद्योण वाणिज्य सङ्घका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
सीमाङ्कनमा बागलुङको पूर्वी भागलाई प्रदेश नं ४ र पश्चिमी भेगलाई प्रदेश नं ५ मा राख्ने निर्णय भएपछि जिल्लाभर आन्दोलन चर्किएको थियो । रासस















प्रतिक्रिया