– दीपक ओली
धनगढी, २० भदौ । कैलालीमा तीन वर्षीया नाबालिकालाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गएको आइतबार राति घरमा सुतेकी ति बालिकालाई चौमाला गाविस ९ कुचैनीका १७ वर्षीय अर्जुन चौधरीले घरबाट नजिकैको जंगलमा लगेर बलात्कार गरी जंगलमै छोडेर भागेका थिए । पीडित बालिकालाई भोलीपल्ट सोमबार बिहान स्थानीयले अर्धचेत अवस्थामा फेला पारी आफन्तलाई बुझाएका थिए ।
पीडित बालिकाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका अर्जुनले आफूले आवेगमा आएर बालिकालाई बलात्कार गर्नपुगेको प्रहरी समक्ष बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पीडित बालिकाकी आमा र बुबाले शनिबार प्रहरी कार्यालयमा अर्जुनको नाममा किटानी जाहेरी दिएका छन् । घटनाको अनुसन्धान भइरहेको र एक÷दुई दिनमा आवश्यक प्रमाण सहित अदालतमा मुद्दा दायर गरिने कैलाली प्रहरी प्रबक्ता डीएसपी विश्वराज खड्काले बताए ।
यसैबीच, धनगढीस्थित सिविन–नेपालले पीडित बालिकालाई लत्ताकपडा, खेलौनाका सामाग्री, फलफूल, हर्लिक्स लगायतका सामाग्री दिएर सहयोग गरेको छ । बालिकाको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।















प्रतिक्रिया