काठमाडौं, २० भदौ । इतिहासशिरोमणि बाबुराम आचार्यलाई नेपालको इतिहास कण्ठस्थ थियो भने नायब बडागुरुज्यू पण्डित हेमराज शर्मा इतिहास, धर्म, संस्कृति मात्र होइन, राजनीति र न्याय विषयमा पनि उत्तिकै जानकार थिए ।
कुमाउँबाट आएका लक्ष्मण पण्डितका वंशज गौरीश्वर पाँडे गोरखाका शाह राजाका राजगुरु थिए भने वाणीविलास रणबहादुर शाहका पालामा र श्री ६ विजयराज पण्डित(१८६२–१९३५)जङ्गबहादुरका समयका राजगुरु थिए जो कोतपर्व र भण्डारखालपर्वसँग पनि जोडिएका थिए ।
उनकै पनाति हेमराज(विसं १९३५–२०१०)ले श्री ६ बडागुरुज्यू हुन नपाए पनि त्रिभुवन–जुद्धशम्शेरका पालामा आफ्ना विद्वत्ताका कारणले विद्वच्छिरोमणि उपाधि भने पाएका थिए ।
माहिला गुरुज्यू हेमराज संस्कृत शिक्षा विभागका प्रथम थिए जसले निकै पुस्तक जम्मा गरेका थिए, उनको पुस्तकालय केशर पुस्तकालय र वीर पुस्तकालयपछि तेस्रोमा गनिनेमा पथ्र्याे । हेमराज प्रायः आफ्नै पुस्तकालयमा डुबिरहन्थे । वनारसमा प गङ्गाधर शास्त्रीसँग संस्कृत वाङ्मयको अध्ययन गरेका हेमराजले राणा शासकका राजनीति, कानुन, विदेशनीति, सैन्यनीति, धार्मिक गतिविधि, भूकम्पोत्तर व्यवस्थापन गरेका थिए ।
नेपालको पहिलो मानक व्याकरण ‘चन्द्रिका गोरखाभाषा–व्याकरण(नेपाली)’(विसं १९६९)लगायत कृति लेखेका राज्यका धर्माधिकारी हेमराजको जीवनी तथा उनीसँग सम्बन्धित नेपाली इतिहास खोतलेर पत्रकार व्याकुल पाठकले ‘नेपालका विश्वकोश’लाई कृतिमार्फत बाहिर ल्याइदिनुभएको छ ।
कृतिमा राजा त्रिभुवनको न्वारान र महेन्द्रको पास्नी, छ राणा प्रधानमन्त्रीहरुको आनीबानी, त्यसबेलाको चाकडी प्रथा, जयतु संस्कृतम् आन्दोलन, काठमाडौँको कपनमा विश्वविद्यालय स्थापना गर्ने तयारी, मोतीराम भट्टसँगको सम्बन्ध, गणेशमान सिंहको पक्राउ जस्ता रोचक विषय परेका छन् ।
नेपाली मौलिक चन्द्रिका व्याकरण सम्बन्धमा धेरै विद्वान्ले गरेको प्रशंसालाई मुख्य स्थान दिइएको छ ।
हेमराज भारतीय विद्वान् राहुल सांकृत्यान, जयचन्द्र विद्यालङ्कार, भण्डारकर, विष्णु सुक्थङ्कर, हरिप्रसाद शास्त्री, काशीप्रसाद जायसवाल र नारायण शास्त्री खिस्ते तथा फ्रान्सेली विद्वान् सिल्भाँ लेभी, इटालीका प्रा टुची र बेलायतका प्रा एफडब्ल्यु टामसको निकट रहे ।
एक पटक त्रिचन्द्र कलेजमा भएको प्रवचन कार्यक्रममा सांकृत्यानले स्रङचङ गम्पोले नेपाल जितेको मनगढन्ते कुरा गरेकामा स्रोतादीर्घामा बसेका हेमराजले साँझ पर्न लाग्दा दिएको मन्तव्यले प्रमुख वक्ता आफैँले संज्ञा दिइएका ‘नेपालको विश्वकोश’सँग नतमस्तक भए ।
उनैले नेवारी लिपिमा लेखिएको महाभारत देखाएर भारतीय विद्वान्हरुलाई चकित बनाएका थिए । नेपालमा आउने विदेशी विद्वान्सँग भेटघाट, विचार आदानप्रदान, शास्त्रार्थ तथा नेपालका बारेमा बताउने जिम्मा पाएका ‘नेपालरत्न’सँग नभेटी उनीहरुको अध्ययन अनुसन्धान पनि पूरा हुँदैनथ्यो । वेदलाई अपौरुषेय मानिआएकामा उनले पौरुषीय हो भन्ने देखाएको कुरा पनि नयाँ तथ्य हो ।
त्यस्तै स्वदेशका सोमनाथ सिग्द्याल, ऋद्धिबहादुर मल्ल, राजेश्वर देवकोटा, कीर्तिनिधि विष्ट, ज्ञानमणि नेपालले पनि उनको निकै प्रशंसा गरेका छन् ।
नेपाली गर्व र पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु-याउने ती विद्वान् नुनको सोझो गर्ने क्रममा प्रजातान्त्रिक आन्दोलनप्रति भने सकारात्मक नभएको दोष पनि लेखकले दिएका छन् ।
सम्बन्धित तस्बिर, चिठ्ठीपत्र, पत्रपत्रिकामा प्रकाशित सामग्री राखेर कृतिलाई ओजिलो बनाए पनि लेखकले हेमराजको जन्ममिति नै नदिनु, विसं १९३५ मा जन्मेका हेमराजलाई १९४७ मा १४ वर्षको देखाउनु, कहीँ जयसवाल र जायसवाल, सिभन र सिल्भाँ, लेवी र लेभी, टुची र तुच्ची लेख्नु, धेरै तथ्यतथ्याङ्क दोहरिनु, विदेशी विद्वान्लाई कहीँ उहाँ र कहीँ उनी आदरार्थी शब्द प्रयोग गर्नु, उनका कृतिमा पूरा सूची नदिनु जस्ता दोष यस पुस्तकमा देखिन्छ ।
युवा अन्वेषक लेखकले नेपाली विद्वत् परम्पराका एक हस्तीलाई पाठकसामु ल्याएर अन्य हराइरहेका र नयाँ पुस्ताले नचिनेको रत्नलाई चिनाउने जुन गुन लगाएका छन्, त्यसलाई भने अन्य युवाले पनि प्रेरणा लिन सक्छ । रासस












प्रतिक्रिया