काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईमा भइरहेको आन्दोलन लामो समयदेखि त्यस क्षेत्रमा शोषण र दमन गर्दै आएका केही जमिनदारका लागि गरिएको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि तराईका शोषितपीडित तथा दलित जनताले अधिकार पाउने भएकाले ती सामन्तहरू डराएको पनि उनले बताए । मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नयाँ घर, नयाँ बस्ती’ अभियान छलफलमा ओलीले भने, ‘मधेसका एकथरी नेताहरू छन्, अधिकार चाहियो त्यसका लागि लडेका हौं भन्छन्, तर केके अधिकार चाहियो भनेर सोध्दा उत्तर दिनै सक्दैनन् ।
त्यसै अधिकार भन्दै उफ्रेका छन्। हामीलाई यो चाहियो भनेर दिनु, हामी संशोधनमार्फत संविधानमा समावेश गरिदिन्छौं।’ उनले तराईमा दुईचारजना जम्मा गरेर मान्छे मार्ने, आगो लगाउने, विध्वंस मच्चाउने अनि त्यसलाई रोक्न जाँदा आन्दोलनमा दमन गरेको आरोप लगाउने गरेको बताए । ‘के आन्दोलन भनेको मान्छे मार्नु हो ? आगो लगाउनु हो, ड्युटीमा खटिएका सुरक्षाकर्मी मार्नु हो ?’ ओलीले प्रश्न गरे।
ओलीले अहिलेको संविधानमा मधेसले यो नपाउने पहाडले यो पाउने भनेर अलग व्याख्या नगरेको दाबी गरे। उनले एउटा सानो परिवारको माग त एकैचोटि पूरा नहुने भन्दै दुई करोड ५० लाख नेपालीका माग बिस्तारै सम्बोधन गरिने बताए। उनले अहिले पनि संविधान बनाउन नदिने तत्व सक्रिय रहेको र संविधान जारी हुने भएपछि तिनीहरू मुखमा अमिलो लगाएको जुकाजस्तो फटफटिएको बताए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
















प्रतिक्रिया