
काठमाडौं, १९ भदौ । थारु र मधेसी समुदायका माग सम्बोधन गर्न प्रमुख चारले सैद्धान्तिक सहमति गरेका छन् ।
विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले माग सम्बोधनका लागि संविधानको विधेयकमा संयुक्त संशोधन प्रस्ताव दर्ता गराउने सहमति गरेका हुन् । यद्यपी कुन कुन मागलाई समेट्ने बारेमा अझै ठोस निष्कर्षमा पुग्न सकिएको छैन् ।
बैठकपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले थारु र मधेसी समुदायका माग तथा अन्य विवादित विषयलाई समेटेर संविधानको विधेयकमा संयुक्त संशोधन प्रस्ताव दर्ता गराउने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘दलहरुबीच संयुक्त शंसोधन प्रस्ताव पेस गर्ने सहमति भएको छ, ठोस सहमति हुन बाँकी छ, आजै बेलुकासम्म सहमति गरेर संसदमा पेस हुन्छ ।’ आज अन्तिम म्याद भएकाले शंसोधन समय नथपिने नेता नेपालको भनाई थियो ।
बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले मागहरु सम्बोधन गर्न संयुक्त रुपमै शंसोधन प्रस्तावमा संसदमा पेस हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘शंसोधन प्रस्ताव संयुक्त रुपमा दर्ता हुन्छ, बढीभन्दा बढी माग समेट्ने तयारी छ ।’
यस्तै, बैठकमा सहभागी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले असन्तुष्ट पक्षका मागलाई सम्बोधन गर्न केही दिनका लागि शंसोधन प्रस्ताव मिति थपिने बताउनुभयो । ‘कम समयमा पर्याप्त छलफल हुन नसकेकाले केही दिन म्याद थपौ भन्ने मेरो प्रस्तावमा दलहरु सकारात्मक छन् । आवश्यक परे शंसोधन प्रस्ताव पेस गर्ने समय थपिन्छ ।’
दलहरूले धर्मनिरपेक्षता, संघीयताको सिमाङ्कन, विभिन्न समुदायको अधिकार, आयोग, नागरिकता, न्यायालय लगायतका विषयमा नयाँ संविधानको विधेयकमा संशोधन प्रस्ताव पेश गर्दैछन् । संयुक्त शंसोधन प्रस्ताव तयार पार्न अर्काे बैठक दिउँसो २ बजेपछि बस्दै छ ।












प्रतिक्रिया