काठमाडौं, १९ भदौ । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिसँग आन्दोलन र पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेको छ ।
राजधानीको एक होटलमा शुक्रबार भएको छलफल कार्यक्रम संविधान लेखनको जारी प्रक्रिया र आन्दोलनको विषयमा मित्र राष्ट्रलाई जानकारी दिन अन्तक्र्रिया आयोजना गरिएको माओवादीका उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख सिपी गजुरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि पनि विशेष परिस्थितिमा हामीले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अवस्था र आफ्नो पार्टीको धारणा जानकारी गराउँदै आएका थियौँ, त्यसकै निरन्तरतामा आजको कार्यक्रम आयोजना गरिएको हो ।”
छलफलमा संविधान लेखन प्रक्रियामा आफ्नो पार्टीलगायत आन्दोलनरत दलको मागको सुनुवाइ नभएको बारे मित्रराष्ट्रलाई जानकारी गराइएको नेता गजुरेलले बताउनुभयो ।
संविधानसभा बाहिर रहेको माओवादीले संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिकसभामार्फत निकास निकाल्नुपर्ने पार्टीको मागबारे बैठकमा स्पष्ट पार्ने प्रयास गरेको थियो ।
छलफलमा नेपालका लागि चिनियाँ राजदूत हुु चुन्ताइ, रुसका राजदूत डा सेर्गेइ भासिलीचिभ भेलाच्किन, बेलायती दूतावासका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
छलफलमा भाग लिँदै विदेशी नियोगका प्रतिनिधिले नेपालमा पछिल्लो दिनमा भइरहेका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै संवादमार्फत समाधान निकाल्नुपर्ने पक्षमा आफू रहेको जानकारी गराएको उपाध्यक्ष गजुरेलले बताउनुभयो ।












प्रतिक्रिया