९ कार्तिक २०८३, सोमबार

नेपालगन्जमा आन्दोलनकारीको ढुंगा लागेर एकको मृत्यु, दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, १८ भदौ । आन्दोलनरत संयुक्त थरुहट–मधेस संघर्ष समितिका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर बाँकेमा एकजनाको मृत्यु भएको छ ।

समितिले आयोजना गरेको नाका बन्दी कार्यक्रम अन्तरगत नेपालगन्ज–कोहलपुर सडक खण्डको गनापुर गाविसस्थित पिप्रहवा चोकमा खटिएका समितिका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर नौवस्ता–२ का २२ बर्षीय करण सिंहको मृत्यु भएको हो ।

नेपालगन्जबाट कोहलपुरतर्फ गइरहेका सिंहलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गर्दा उनको छातीमा चोट लागेको थियो । छातीमा गम्भिर चोट लागेको सिंहलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोेहलपुरमा लैजाने क्रममा कलेज नजिक मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

छातीमा चोट लागेपछि मुखबाट रगत आएको बताउँदै प्रहरीले उनको मुटुमा चोट लागेको हुन सक्ने अनुमान लगाएको छ । उनी भे ५ प ४२५० नं. को मोटरसाइकलमा सवार थिए । घटना दिउँसो ३ः३० बजे भएको र उनको ३ः५५ बजे मृत्यु भएको थियो ।

उनीसँगै मोटरसाइकलमा सवार विनोद शाही घाइते भएका छन् । शाहीको बायाँ खुट्टामा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक सिंहको शव नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।

यसैबिच, घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गनापुर–३ का २४ बर्षीय प्रदिप गडरिया र गनापुर–५ का २२ बर्षीय धर्मेन्द्र बर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।