२१ कार्तिक २०८३, शनिबार

टीकापुरमा क्रुर हत्या गरिएका छ प्रहरीलाई दश/दश लाख प्रदान गर्ने निर्णय, उच्च मूल्याङ्कन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ssp-laxman-neupane-8

काठमाडौं, १७ भदौ । कैलाली जिल्लाको टीकापुरमा भदौ ७ गते प्रदर्शनकारीहरूको क्रुर र अमानवीय आक्रमणको निशाना बनी बीरगति प्राप्त गरेका तत्कालीन प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण नेउपानेसमेत नेपाल प्रहरीका ६ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले राहतस्वरुप जनही १० लाख रुपियाँ प्रदान गर्ने भएको छ ।

राष्ट्र सेवा र नागरिक सुरक्षालाई उच्च प्राथमिकता दिई कर्तव्यपालनकै सिलसिलामा वीरगति प्राप्त गरेका कर्मठ अमर प्रहरीहरू तत्कालीन प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण नेउपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दारद्वय श्यामबहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको योगदानको उच्च कदर गर्दै नेपाल प्रहरीको कल्याण कोषबाट राहत प्रदान गर्ने बिहीबार निर्णय गरिएको हो ।

‘अमर प्रहरी परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट राहतस्वरुप जनही १० लाख रुपियाँ प्रदान गर्ने, अमर प्रहरीका सन्ततीहरूलाई उच्च शिक्षासम्म अध्ययनका लागि शैक्षिक छात्रबृत्ति प्रदान गर्ने र घाइते प्रहरी कर्मचारीहरूको निःशुल्क उपचार गर्ने तथा निजका परिबारहरुको आर्थिक सबलीकरणका निमित्त रोजगार तथा आयआर्जनमा सहयोगी कार्यक्रम संचालन गर्नेसमेत निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।