काठमाडौं, १७ भदौ । समाजिक सञ्जालमा जथाभावी कुरा लेखेर सामाजिक सदभाव भड्काउन खोज्ने जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
अदालतको आदेशपछि उनमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तरगत मुद्धा चलाउने तयारी थालेको छ । टीकापुर घटनापछि समाजिक सञ्जाल फेसबुकमा सुरक्षा निकायबीच फाटो ल्याउने, जातीय तथा साम्प्रदायिक सद्भाव भड्काउने खालका सन्देश लेखेको भन्दै महासचिव शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका आङकाजीलाई प्रहरीले बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको हो । अब अपराध महाशाखाले शेर्पाविरुद्ध साइबर क्राइममा मुद्दा चलाउने महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
नेपालको कानुन अनुसार विद्युतीय कारोबार ऐन विपरित काम गर्नेलाई १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।















प्रतिक्रिया