शब्द तस्वीर: अनुज थापा
न्युयोर्क । उनको फेसबुकका भित्ताहरुमा अगस्ट २३ तारिखको रातदेखि बधाइका ओइरो लागेको छ । उनलाई फेसबुक रिक्वेस्ट आउने क्रम अहिले बढेको बढै छ । उनी अहिले विशेषगरी सामाजिक सञ्जालमा एकाएक सेलिब्रिटी भएकी छिन् । यो सब हुनुमा जिम्मेवार हो, मिस नेपाल युएस प्रतियोगिता । जसको पांचौं संस्करणको विजेता बनिन्, २१ वर्षिय युवती प्रियंका थपलिया ।
न्युयोर्क शहरको म्यानह्याटनमा अवस्थित न्युयोर्क सोसाइटी अफ इथिकल कल्चरको कन्सर्ट हलमा प्रियंकाले ९ प्रतियोगीलाई पछि पार्दैै यो ताज पहिरिन सफल भएकी हुन् । गत वर्षकी विजेता खुस्बु मिश्रले उनलाई यो ताज पहिराइदिएकी थिइन् ।
अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बसोबास गरिरहेकी प्रियंकाले मिनेसोटाकी कौशली लामा र टेक्ससकी नेहा झालाई क्रमशः दोस्रो र तेस्रो स्थानमा धकल्दै ताज पहिरिएकी हुन् ।
१० प्रतिस्पर्धीबाट उत्कृष्ट ५ छानीसकेपछि निर्णायक मण्डलबाट प्रत्येक प्रतिस्पर्धीलाई फरक–फरक प्रश्न सोधिएको थियो । मिस फोटोजेनिकको अवार्ड समेत पाएकी प्रियंकालाई पूर्व मिस नेपाल शिताष्मा चन्दले रमाइलो प्रश्न सोधेकी थिइन् । प्रश्न थियो – “यदि तपाईंले आज जित्नुभयो भने अवार्ड जितेसंगै आउने आलोचनाको सामना कसरी गर्नुहुन्छ ?”
प्रियंकाले हंसिलो मुद्रामा उत्तर दिइन् – “यो ताजले यस्तो शक्ति दिन्छ कि यसले जस्तो कुरा पनि मजाले सम्हाल्न सक्छ ।” उनको यहि उत्तरले नै उनलाई विजेता बनाएको थियो ।
काठमाडौं चाबहिलकी प्रियंका आफ्नो मातापिताको साथमा सन् २०१३ मा अमेरिका बसाईसराई गरेकी हुन् । विजेता बनेपछि उनको पिता दिनेश थपलियाले उनलाई भने –“म तिमीमाथि गर्व गर्छु । ”
“मैले ताज जितेको क्षण मेरो अभिभावक मसंगै हुनुहुन्थ्यो र उहांहरुको अनुहारमा देखिएको खुशीले मलाई आनन्दित तुल्याएकोे थियो,” उनले भनिन् ।
प्रियंकाले यस प्रतियोगिताभन्दा अघि यस्तो खाले प्रतियोगितमा कहिले भाग लिएकी थिइनन् । बानेश्वरमा रहेको एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा प्लस टू गर्दा उनले एक फेसन शो मा भने भाग लिएकी थिइन् । “त्यो कुनै प्रतियोगिता थिएन मात्र सांस्कृतिक भेषभूषा प्रदर्शनी थियो ।”
उनले (लजाउंदै) सानैदेखि नाच्न भने कहिले पनि पछि नपरेको बताउंदै भनिन् –“मेरो स्कुल लाइफमा मैले ननाचेको कुनै समारोह नै छैन ।” उनले एसएलसी. नक्सालस्थित वृहस्पति विद्यासदनबाट पास गरेकी थिइन् ।
हाल नर्थ क्यारोलाइनामा रहेको गिल्फोर्ड टेक्निकल कम्युनिटी कलेजमा स्नातक गरिरहेकी प्रियंकाले आफूले पाएको उपाधिले थप जिम्मेवारीबोध भएको उल्लेख गरिन् । उनले आफूले यो ताज जित्ने सपना देखेको र सपना पूरा भएपछि अझ आफ्नो देशप्रतिको कर्तव्य बढेको जिकिर गरिन् ।
उनले गत वैशाखमा नेपाल फर्किएर भूकम्प प्रभावित क्षेत्रमा गएर सामाजिक सेवा समेत गरेकी थिइन् । “म समूह बनाएर सिन्धुपाल्चोक गएर आफूले सक्दो सहयोग गरेकी थिएँ । मैले भूकम्पले पु¥याएको भौतिक र मानसिक क्षति देखेकी छु ।”
यस प्रतियोगिता आयोजना इभेन्ट प्लानेट इन्कले निरन्तर गरिरहेको छ । यसका प्रमुख कार्यकारी निर्देशक अमित शाहका अनुसार अब प्रियंकालाई छिट्टै नेपाल पठाइदैँछ । उनले भने – “उनलाई हामी सम्भवतः यहि डिसेम्बरमा नेपाल पठाउँदै छौं । यस वर्षको थिम नै ‘नेपालको पुर्ननिर्माण’ रहेको छ । हामी यो पुर्ननिर्माणमा प्रियंकालाई पनि समावेश गराउन चाहन्छौं ।” उनले थपे – “यसपटक सबै १० प्रतियोगीहरुले संयुक्त रुपमा लगभग ८ हजार डलर उठाउन सफल भएका छन् । त्यो पैैसा प्रियंकालाई दिइन्छ र उनले त्यहि पैसाको जगमा पुर्ननिर्माणको योजना बनाएर लागू गराउनुपर्ने हुन्छ ।”
नेपालमा हरेक वर्ष हुने मिस नेपाल जस्तो क्रेज यस प्रतियोगितामा छैन । त्यसैल उक्त प्रतियोगितामा भाग लिने सोच छ कि छैन भनि यस पंक्तिकारले उसलाई सोध्योे ।
उनले तत्काल कुनै संभावना नभएको उल्लेख गरिन् । उनले भनिन् –“मेरो प्राथमिकता अहिले मिस नेपाल होइन । म पहिला मिस नेपाल यु.एस.को रुपमा एक वर्ष काम गर्नेछु र त्यसपछि आफुनो स्नातकको पढाइ पुरा गर्नेछु ।” उनले जोडिन् – “मिस नेपालमा भाग लिंदै नलिने भन्ने कुुरा चाहिं होइन है, बस् मेरो प्राथमिकता तत्कालको लागि यो होइन ।”
यस वर्षको मिस नेपाल यु.एस.को आकर्षण रहेकी थिइन् नेपाली मुलकी किरण क्षेत्री, जो कुनै बेला प्रसिद्ध न्युज च्यानल सि.एन.एन.की समाचारवाचिका थिइन् । किरण क्षेत्रीले संचालन गरेको कार्यक्रम सबैले चासोका साथ हेरेका थिए । कार्यक्रमको दौरान धेरै प्राविधिक गढबढी भएपछि उनले हांस्दै भनेकी थिइन् – अन्तिम समयमा आएर कार्यक्रमको सेड्युल चेन्ज हुनु र प्राविधिक गढबढी हुन् हामी नेपालीको विशेषता हो । ”
यस वर्षको प्रतियोगितमा अमेरिकाभरिबाट १९ देखि २९ उमेर समूहका २७ प्रतियोगीले आवेदन दिएका थिए, जसमध्ये टप टेन स्काइप र प्रत्यक्ष अन्तर्वार्ता लिएर छानिएको थियो । यी प्रतियोगिलाई ३ दिन न्युयोर्कमै राखेर प्रशिक्ष्ँण दिइएको थियो ।
यस वर्ष गैरनेपाली युवतीहरुलाई पनि समावेश गराएर मिस नेपाल यु.एस. एम्बेसडरको उपाधि दिइएको थियो । यसको उपाधि २२ वर्षिय पाकिस्तानी मुलकी निशा कलाम्दानीले प्राप्त गरेकी थिइन् ।
यसमा रोचक कुरा के छ भने मिस नेपाल यु.एस.मा भाग लिन २७ जनाले आवेदन दिइरहंदा एम्बेसडरमा भाग लिन भने ३८ जनाले आवदेन दिएका थिए ।





















प्रतिक्रिया