– नरेन्द्रसिह कार्की
दार्चुला, १६ भदौ । दार्चुलाका स्वास्थ्यकर्मीले रक्तसञ्चार केन्द्र स्थापनाको माग गरेका छन् ।
रगत नपाएर सुत्केरी महिलाहरुलाई पर्ने समस्या समाधानको लागि जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना हुनुपर्ने डा अतुल भारद्ववाजले बताए । जिल्ला अस्पतालमा निशुल्क प्रसुति केन्द्र स्थापना भएसँगै रक्त सञ्चार केन्द्रको समेत आवश्यकत्ता रहेको छ ।
अप्ठ्यारो सुत्केरी हुन आएका महिलालाई रगतको आवश्यकत्ता पर्छ डा. भारद्ववाजले भने, तर जिल्लामा रगत खोज्यो पाउनै समस्या हुने देखिएको छ । प्रसुति केन्द्रमा आउने महिलाहरुलाई रगत अभाव हुन्छ । बैतडीमा सुत्केरी हुन आउने महिलाको साथमा तीन चार जना रगत दिन सक्ने मानिस साथमा ल्याएर आउन भनिएको हुन्छ डा. भारद्ववाजले भने, ‘दार्चुलामा यो देखिएन । यता पनि पहल गर्नुपर्ने छ ।’ डा. भारद्ववाज बैतडी अस्पतालबाट एक महिनाको लागि काजमा खटिएका हुन् । इन्सेक अनलाइनमा डाक्टर नहुँदा प्रसुति केन्द्र बन्द समाचार आएपछि उनी दार्चुला आएका हुन् ।
रगत खोज्नुपर्यो भने, सेना प्रहरी कहाँ गुहार्नुपर्ने अवस्था छ । उनले जिल्ला अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापना हूँदा जुनसुकै कठिन सुत्केरीको पनि जिल्लामा अप्रेशन गर्न सकिने बताए । सुरक्षित सुत्केरी सेवाको लागि निशुल्क प्रसुति केन्द्र स्थापना भएको हो । गत वर्षको तथ्यांक हेर्ने हो भने सुदूरपश्चिममा ३८ जना महिलाको सुरक्षित सुत्केरी सेवा नपाएर ज्यान गएको छ ।
रगत पहिलो आवश्यकत्ता हो, उनले भने, रगत अभाव भयो भने महिलाको ज्यान खतरा हुन्छ । यसो त सुदूरपश्चिमका पहाडी सबै जिल्लामा रगतको अभाव हुने गरेको छ । एक तथ्यांक अनुसार ८५ प्रतिशत महिला सामान्य सुत्केरी हुन्छन् भने १५ प्रतिशत महिलालाई अप्ठारो हुने गरेको छ । यसमा ५ प्रतिशत महिलालाई रगतको आवश्यकत्ता पर्ने गर्छ डा. भारद्धारले भने ।
जिल्लामा रक्त सञ्चार केन्द्र स्थापनाको लागि नेपाल रेडक्रस सोसाइटी दार्चुलाले पहल थालेको मन्त्री दिपकप्रसाद अवस्थीले बताए । तर स्थापनाको लागि बजेट अभाव भएको छ । रक्त सञ्चार स्थापनार्थ झण्डै १८ लाख बढि बजेट आवश्यक छ, उनले भने, केन्द्रीय रेडक्रससँग कुराकानी भइरहेको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशानालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७०।०७१ मा सुदुर पश्चिममा ३८ जना, ०६९।०७० मा ८० जना र ०६८।०६९ मा ५२ जना आमाको समयमै सुत्केरी सेवा नपाएर ज्यान गएको छ ।
दार्चुलामा हालसम्म सुरक्षित सुत्केरी अभावमा मृत्यु भएको रेकर्ड नभएपनि रक्त सञ्चार केन्द्र आवश्यक रहेको डा. अमित रोनियारले बताए । अहिले अप्रशेनद्धारा सुत्केरी गराउन थालिएको छ, कुनै केश रगत नभइ नहुने अवस्थामा समस्या हुन जान्छ डा. रौनियारले भने, अहिलेलाई सेना प्रहरीको नम्बर राखेर काम चलाइने गरेको छ ।















प्रतिक्रिया