९ कार्तिक २०८३, सोमबार

टीकापुरमा मारिएका प्रहरी हवल्दार जनककी श्रीमती माईतीको शरणमा, सरकारले हेरेन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-children-deathभीमदत्तनगर, १५ भदौ । घरको आर्थिक अवस्था नाजुक देखेर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–६ कसरौलका नरमादेवी नेगीलाई उहाँका माइती पक्षले भीमदत्तनगरपालिकाको बागफाँटामा आश्रय दिएका थिए ।

गरिबीसित जुध्दै १३ वर्षसम्म माइतीले दिएको एक कट्ठा जमिनमा घर बनाएर तीन छोरी र दुई छोराको पालनपोषणमा जुटेकी नरमादेवीका आगामी दिनहरु भने थप कष्टकर बन्ने निश्चित छ । गत सोमबार टीकापुर आक्रमणमा घाइते भई उपचारका क्रममा मृत्यु भएका प्रहरी हवल्दार जनक नेगीकी श्रीमती हुन् – नरमादेवी नेगी ।

कसरौलमा दुई कट्ठा जमिनमात्रै भएका मृतक जनकका परिवारलाई उहाँको निधनले स्तब्ध मात्रै बनाएको छैन, घरपरिवारको जोहो कसरी गर्ने भन्ने पिरलो सुरु भइसकेको छ । “पाँच नाति÷नातिनालाई माइतमा राखेर पढाएकै थियो ।” मृतक प्रहरी हवल्दार जनकका बुबा वीरसिंह नेगीले रुँदै भन्नुभयो – “अब उसका (जनकका) बालबच्चाहरु कसरी हुर्काउँ ।”

श्रीमान्को मृत्युको खबरले अर्धचेत अवस्थामै रहेकी नरमादेवीलाई पीडा बिर्सन सकस भइरहेको छ । टीकापुर आक्रमणबाट छोरालाई पनि घाइते बनाएको टीकापुरमा रहेका गाउँकै प्रहरीहरुबाट थाहा पाएको वीरसिंह नेगीले बताउनुभयो । “मेरो छोरो घटना हुनुभन्दा ३÷४ दिनअघि मात्रै टीकापुर काजमा गएको हो ।” उहाँले भन्नुभयो – “घरको जेठो छोरा गुमाउँदा परिवारकै शिर ढलेर दुःख थामिनसक्नु छ ।”

“सहादत पाउनेको भन्दा पनि अब बच्चाहरुको बिजोग हुने भयो ।” मृतकका काका राजबहादुर नेगीले भन्नुभयो – “बच्चाहरुलाई पढाउन पनि मुस्किल पर्ने स्थिति बन्यो ।”

अवस्था दयनीय देखेरै मृतक जनकका ससुरालीले १३ वर्षअघि बागफाँटामा एक कट्ठा जग्गा दिएर बसोबासको प्रबन्ध मिलाइदिएको उहाँले जानकारी दिनुभयो । “जागिरको कमाइ कहिले माइतमा बसेका बच्चाहरु र श्रीमतीलाई दिन्थ्यो ।” उहाँले भन्नुभयो, “र कहिलेकाहीँ घरमा बुबाआमालाई पनि घर खर्च पठाएकै हुन्थ्यो ।” मृत्युको खबरले घरपरिवारलाई भेट्न आउने जो कोही स्थानीयवासी मृतकका छोराछोरीको अवस्था देखेर भावुक हुने गरेका छन् । “जेठी नातिनी १५ वर्षकी र अन्तिम पाँचौँ नाति १४ महिनाको मात्रै भएको छ ।” वीरसिंह नेगीले भन्नुभयो–“कान्छो नातिबाहेक चारवटा नाति÷नातिना ५, ६ र ८ कक्षामा पढ्छन् ।”

उहाँले आर्थिक अवस्था निकै कमजोर भएकाले मृतक छोराका छोराछोरीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइदिन आग्रहसमेत गर्नुभयो । “हाम्रो भरोसालाई नै आन्दोलनकारीले निमोठिदिए,” उहाँले भन्नुभयो –“मेरा अबोध नातिले बुबा चिन्नसमेत पाएनन् ।” वीरसिंहका कान्छा छोरा उमेश नेगी रोजगारीको सिलसिलामा एक वर्षअघि मलेसिया गएका छन् ।

भदौ ७ गते घटना भएको केहीबेरमै सञ्चारमाध्यममा छोरा घाइते भएको खबर पाएको उहाँले बताउनुभयो । “छोरालाई सोही दिन उपचारका लागि नेपालगन्ज लगिएको रहेछ ।” उहाँले भन्नुभयो – “८ गते थप उपचारका लागि काठमाडौँ लगेपछि मात्रै हाम्रो छोरासित सम्पर्क भयो ।”

घटना भएको अर्को दिन ८ गते मृतक नेगीसँगै उहाँकै गाउँका प्रहरी रामदत्त जोशी पनि घाइते भएका थिए । “काठमाडौँ अस्पतालमा फोन नं पत्ता लगाउँदै जाँदा गाउँकै रामदत्तसित सम्पर्क भएको थियो ।” मृतक प्रहरी हवल्दार नेगीका काका राजबहादुर नेगीले भन्नुभयो – “रामदत्त भाइकै मोबाइलबाट उपचारका क्रममा रहेका जनकले घरमा बुबा, माइतमा श्रीमती, भैरहवामा रहेका काका÷काकी र मलेसियामा रहेका भाइ उमेशसित कुरा गरेका थिए ।

“सबैसित छातीमा समान्य चोट लागेको छ, चिन्ता नगर्नु भनेर राम्रैसित कुरा गरेको थियो ।” राजबहादुरले भन्नुभयो – “उसको स्वर सामान्य रहेकाले हामी पनि उपचारबाट ठीक भइहाल्ला भन्नेमा थियौँ ।”

“अझ श्रीमतीले टेलिफोन सम्पर्क गर्दा कहाँबाट सम्पर्क नं पत्ता लगाइस् भनेर सोधेका पनि थिए ।” उहाँले भन्नुभयो – “भैरहवामा रहेका काकीलाई काठमाडौँ नजिक पर्ने भएकाले आफूकहाँ आउन आग्रहसमेत गरेको थियो ।”

“सोही दिन राति २ बजे उसले संसारबाट विदा लिइसकेको रहेछ ।” नेगीले भन्नुभयो – “म बिहानै पाँच बजे उठेर भतिजाको हालखबर बुझ्न खोज्दा घर आँगनमा प्रहरी आइपुगे ।” “उनीहरु (प्रहरी) ले जनकको मृत्युको खबर सुनाए ।” उहाँले भन्नुभयो – “पूरै परिवार छाँगाबाट खसेझँै भयौँ ।” “हामीलाई चिन्ता मान्लान् भनेर औषधि भइराछ, ठीक भइहाल्छ भनेको रहेछ”, – बुबा वीरसिंहले भन्नुभयो । रासस