९ कार्तिक २०८३, सोमबार

द्वन्द्वकालमा क्षतिग्रस्त गाविस भवन अझै पुनर्निर्माण भएनन्, सेवा प्रवाहमा कठिनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula-vdc (1)

– नरेन्द्रसिह कार्की
दार्चुला, १४ भदौ । सशस्त्र द्वन्द्वको क्रममा २०५८ सालमा घुसा गाविस भवन तत्कालीन नेकपा माओवादीले आगो लगाएर जलाए । सदरमुकाम खलंगाबाट २६ कोष उत्तरपश्चिममा अवस्थित गाविस भवन अझै पुनर्निर्माण हुन सकेको छैन् ।

गाविसमा रहेका कागजात जलेर नष्ट भए । गाविसले अहिले कागज पत्र आधा गाविस र आधा (कोठा) डेरामा राखेर काम गर्ने गर्छन् । गाविस सचिव रामसिह साउद भन्छन् ‘भवन पुनर्निर्माणमा बजेट आउने आशाले गाविसले मर्मत गरेन ।’ अहिले आएर गाविसमै बसेर काम गर्ने अवस्था छैन । पानी पर्यो भने भवन पूरै चुहिन्छ । टेबल कुर्सी जताततै पानी जम्ने गरेको छ ।

पुर्ननिर्माणमा ढिलाई भएको कारण सेवाप्रवाह जटिल बनेको छ, सचिव साउदले भने, पानी पर्दा कामकाज गर्न समस्या छ । गाविसले परिषद बैठक सञ्चालन गर्नुपर्दा विद्यालसँग भवन माग्नुपरेको छ सचिव साउदले सुनाए ।

स्थानीय निकायको निर्वाचन समयमै नहँुदा पनि गाविस भवन निर्माण गर्नतर्फ कसैले चासो देखाएको छैन, गाविसका कार्यालय सहयोगी कैलाशसिह धामीले भने, ‘जनप्रतिनिधि विहिन अवस्थामा गाविस निर्माण भन्दा भागवण्डामा बढि चासो छ ।’

Darchula-vdc (2)द्वन्द्वको क्रममा दार्चुलामा ३१ वटा गाविस भवन ध्वस्त भएका थिए । जिल्ला प्राविधिक कार्यालय दार्चुलाका अनुसार हालसम्म ११ वटा गाविस भवन निर्माण सम्पन्न भएका छन्, भने १३ गाविस भवन निर्माण हुन बाँकी छ । यस्तै लटिनाथ, गुल्जर र सिप्टी गाविस भवन गत वर्षबाट क्रमागत रुपमा निर्माण भइरहेको छ ।

यस आर्थिक वर्षमा पिपलचौरी, धारी, शिखर र खार गाविस भवन निर्माणको लागि प्रक्रिया अघि बढेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर मदनराज जोशीले बताए । ‘भवन निर्माणको लागि थोरै थोरै बजेट आउने भएको कारण निर्माणमा ढिलाइ भएको हो,’ उनले भने । क्रमश ः सबै गाविस भवन निर्माण हुन्छन् ।

भवन अभावसँगै गाविसमा सेवा दिने गाविस सचिवहरु पनि सबै गाविसमा छैनन् । एक जना सचिवले दोहोरो तेहोरो गाविसको जिम्मेवारी सम्हालेका छन् । ३६ गाविस मध्ये हाल ७ गाविसमा सचिव रिक्त छ ।