
काठमाडौं, १४ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सरकारले दोस्रो पटक वार्ताका लागि आह्वान गरेर पत्र पठाएका विषयमा अनेक अड्कलवाजी भइरहेका बेला मोर्चाका एक प्रभावशाली नेताले वार्ताका लागि भइरहेका प्रयासको सराहना गरेका छन् ।
ती नेताले देशलाई सधै द्वन्द्वमा लगेर समस्याको समाधान नहुनेभन्दै मधेशी मोर्चा पनि मुलुकका लागि सम्वेदनशील रहेको बताएका हुन् ।
सरकार र मधेशी मोर्चाको वार्ताका लागि दुबैतर्फबाट दोस्रो तहका नेताहरूले मध्यस्तताको भूमिका समेत निभाइ रहेको बुझिएको छ । वार्ताको प्रक्रिया चलिरहेका बेला मधेशी मोर्चाका दोस्रो तहका केही नेता राजधानीमा समेत आइसकेका छन् ।
दैनिक नेपालसँग आज बिहान कुरा गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीका प्रभावशाली नेता शर्बेन्द्रनाथ शुक्लालेले सरकारले वार्ताका लागि आह्वान गरेर आइतबार पठाएको दोस्रो पत्रमा मधेशी मोर्चाका केही हदसम्म भए पनि माग पूरा भएको बताउनुभयो ।
‘वार्ताका लागि पूर्वर्शतका रुपमा राखिएका हाम्रा चार वटा माग केही हदसम्म पूरा भएका छन्’, उहाँले भन्नुभयो, ‘धेरै पूरा हुन बाँकी छ । तर वार्ताका लागि सरकारले गरेको प्रयास सराहनीय नै छ । हामी पनि वार्ताबाटै समस्याको समाधान होस् भन्ने चाहन्छौं ।’
दोस्रो पत्रले वार्ताको वातावरण बिथोलियो भनेर टिप्पणी गर्ने पनि छन् नी ? भन्ने जिज्ञासामा तमलोपा नेता शुक्लाले भन्नुभयो, ‘पहिलाको २२ बुँदे र ८ बुँदे सहमति कार्यान्वयन गर्ने धेरै हदसम्म प्रतिवद्धता प्रधानमन्त्रीले गर्नुभएको छ । बरु तराईका जिल्लामा हामीहरूले गरेको शान्ति पूर्ण आन्दोलनमा दमन भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान दिइएको छैन ।’
नेता शुक्लाले नेपाली सेना र सशस्त्र प्रहरीलाई व्यारेकमा फिर्ता बोलाउने विषयमा सरकारले ध्यान नदिएको तर्फ संकेत गर्नुभएको थियो ।
उहाँले सेना परिचालनको विषयमा सरकारले गम्भीर भइ ध्यान दिएर फिर्ता लगे वार्ता हुने बताउनुभयो । उहाँले अन्य विषयमा वार्ताको टेवुलबाटै टुङ्गो लगाउन आफूहरू तयार रहेको उल्लेख गर्नुभयो ।
मधेशी मोर्चाका केही नेताहरूको कडा अभिव्यक्तिका सम्बन्धमा तमलोपा नेता शुक्लाले भन्नुभयो, ‘आन्दोलनका क्रममा केही साथीहरूका अभिव्यक्ति क्रान्तिकारी हुनु स्वभाविक हो । मधेशी मोर्चामा कुनै विवाद छैन् । टिमवर्कले चलेको छ । टिमले गर्ने निर्णय सबैले मान्नु हुन्छ ।’












प्रतिक्रिया