२१ कार्तिक २०८३, शनिबार

मधेसी र थारुलाई संविधान निर्माणको प्रक्रियामा फर्काउन सञ्चारमन्त्रीको यस्तो प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । संविधानसभाकोे बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि आज पाँचौं दिन पनि छलफल जारी छ ।

बैठकको सुरुमा सभासद् डा मीनेन्द्र रिजालले आन्दोलनमा उत्रेका मधेसी र थारुलगायत सबै पक्षलाई संविधान निर्माणको प्रक्रियामा फर्कन आग्रह गर्नुभयो ।

आधुनिक नेपालको जग बसाल्न सात दशकदेखिको नेपाली जनताको चाहना पूरा हुन लागेको अवस्थामा आन्दोलन गर्नु उपयुक्त नभएको भन्दै उहाँले राष्ट्र र जनतालाई केन्द्रमा राखेर वार्ता र संवादमा आउन अनुरोध गर्नुभयो ।

आफूलाई मन परेको कुरा लेख्नैपर्ने र मन नपरेका कुरा लेख्न नहुने हठले अघिल्लो संविधानसभा विघटन भएको प्रसङ्ग जोड्दै सभासद् रिजालले मुलुकमा आएको युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्दै संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा पनि प्रमुख दलबीच नौ र १६ बुँदे सहमति भएका र ती संविधान निर्माणका निम्ति केन्द्रित रहेको स्मरण गराउँदै सभासद् रिजालले लोकतन्त्रका उपलब्धि संस्थागत गर्न लागेका बेला देशका केही भागमा भएका पछिल्ला घटनाले सबैलाई चनाखो पारेको बताउनुभयो ।

संविधान निर्माणलाई जसरी पनि सफल पार्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “संविधान निर्माणको सुअवसर अब खेर नफालौँ, हिंसालाई राजनीतिबाट अलग्याउनै पर्छ । विगतका सशस्त्र विद्रोहको शिक्षा पनि त्यही हो ।”

आर्थिक विकास र समृद्धिको नेपाली जनताको चाहना संविधानबाटै पूरा हुने भएकाले स्वदेशी एवम् विदेशी लगानी आकर्षित गर्दै उन्नत नेपाल निर्माणमा सबैको रचनात्मक सहयोग अपरिहार्य भएको सभासद् रिजालले बताउनुभयो । रासस