गोलबजार (सिरहा), १३ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको १५औँ दिन आज लहानबाट पाँच बन्दकर्ता पक्राउ परेका छन् ।
बजार बन्द गराउँदै हिँडेका मोर्चाका सिरहा संयोजकसहित पाँच आन्दोलनकारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोर्चाका सिरहा संयोजक कृष्णबहादुर यादव, दिनेशप्रसाद गुप्ता, जिवछप्रसाद यादव, रामउदगार यादव छन् । पक्राउ परेकामध्ये एक जनाको नाम खुलेको छैन ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले लहानस्थित भू–संरक्षण कार्यालय र सोनी मेडिकल सेन्टरमा तोडफोड गरेपछि पाँच आन्दोलनकारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले उनीहरुमाथि मुद्दा चलाउने वा सम्झाइबुझाई छाड्ने विषयमा अहिले भन्न नसकिने बताउनुभयो ।
यसैबीच, बन्दका कारण सिरहाको जनजीवन अति प्रभावित बनेको छ । सिरहाको लहान, गोलबजार, मिर्चैयालगायतका बजार पूर्णरुपमा बन्द छ । पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलबाहेकका सवारी साधन चलेका छैनन् । जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्था र दर्जनौँ उद्योगसमेत पूर्णरुपमा ठप्प छन् । रासस
















प्रतिक्रिया