– नरेन्द्रसिंह कार्की
दार्चुला, १३ भदौ । हुन त लेख्ने भाषामा दार्चुला लेखिन्छ । तर पछिल्लो समय दार्चुलामा मदिरा जताततै पाइन थालेपछि आगन्तुकले भन्न थालेका छन ‘दारुचुला’ । अर्थात दारु नै दारु पाइने जिल्ला दारुचुला ।
चिया पसल, खुद्रा पसल, खाना खाने होटेल अनि कपडा पसलहरुमै मदिरा पाइने भएपछि दार्चुला मदिराको प्रख्याती भएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल भन्छन्, ‘बाहिरबाट आउने पाहुनाहरुले दार्चुलालाई ‘दारुचुला’ भन्न थालेका छन् ।’ सदरमुकाम खलंगामा बढ्दो मदिरा कारोबारका कारण जिल्लाले बदनामी खेप्नुपरेको उनको भनाई छ ।
बिहान ५ बजेदेखि खुल्ने चिया पसलमा दारु पाइन्छ, उनले भने, ‘दुधको चिया खाउँ भन्दा छैन ।’ यस्तो अवस्थामा मदिरा विक्री वितरणमा नियन्त्रण गर्नुपर्छ । मदिराको बढ्दो बिकी कै कारण पाहुनालाई जिल्लामा स्वागत गर्नसमेत समस्या हुने देखिएको छ । हाम्रा सन्तानको भविष्यको लागि भएपनि मदिरा विक्रीवितरणमा ध्यान दिऊँ उनले जिल्लाका मदिरा विक्रेताहरुसँग भनेका छन् ।
सदरमुकाम खलंगामा दर्ता भएर व्यवसाय सञ्चालन गरेका पसल झण्डै सात सय छ । यसमा मदिराको इजाजत लिएर सञ्चालन गरेका होटेल रेष्टुरेष्टहरु दुई सयको हाराहारीमा छ, उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिह थापाले भने । अहिलेको मितिसम्म उद्योग वाणिज्य संघमा १ सय ३७ जनाले इजाजत पत्र नविकरण गरेका छन् ।
यस्तै जिल्लामा घरेलु उत्पादन हुने मदिरा बढ्दो छ । खलंगाका व्यवसायी नै भन्छन्, घरेलु मदिराले इजाजत लिएका व्यापारीलाई समेत समस्या गर्ने गरेको छ । खलंगामा सौका समुदायका मानिस पूजापाठको लागि भन्दै घरेलु मदिरा निकाल्ने गर्दछन् । अहिले आएर पूजापाठ भन्दापनि बढी मदिरा बजारमा व्यापार हुने गरेको व्यापारी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्न हो भने जिल्लामा घटेका अधिकांश घटना मदिराको कारण नै हुने गरेको छ । हत्या, बलात्कार, कुटपीट जस्ता घटनाको कारण मदिरा बनेको छ ।
जिल्ला प्रशासन अहिले मदिरा नियन्त्रण गर्नतर्फ लागेको छ । प्रशासनले सर्वपक्षीय सहमतिमा मदिरा विक्रीवितरणको लागि दिउँसो १ बजेदेखि राती १० बजेसम्मको समयावधि तोकेको छ । यस्तै प्रहरीले बजारमा माइकिङ गर्दै दिउँसो १ बजेपछि मात्र मदिरा विक्री वितरण गर्न व्यापारीमा आग्रह गर्दै आइरहेको छ ।
बिहानैदेखि मदिराको कारोबार हुँदा विद्यार्थी, कार्यालयका कर्मचारी र आम सर्वसाधारणलाई काममा समस्या हुने प्रशासनको ठहर छ । दार्चुलामा मदिरा ऐन अनुसार मदिरा विक्री वितरण नहुँदा झन समस्या देखिएको छ । विद्यालय, मठमन्दिर छेउछाउँमा खुलेका मदिरा पसलहरुले विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ ।















प्रतिक्रिया