
– नरेश केसी
भैरहवा, १३ भदौं । नेवार समुदायका मानिसहरुले मनाउने गाइजात्रा पर्व आज आइतबार देशैभर मनाउंदैछन् ।
मल्लकालिन समयदेखी मनाउदैं आएको गाईजात्रा अर्थात सपारु पर्वमा नेवार समुदायका मानिसहरुमात्रै होइन अन्य समुदायका मानिसहरुको पनि बाक्लो सहभागिता रहेको छ । काठमाण्डौं, भक्तपुर र ललितपुर लगायत देशका नेवार समुदायका मानिसहरुको घना बस्ती भएको ठाऊमा मनाइने पर्व पश्चिम तराईको भैरहवामा पनि मनाइएको छ ।
शान्तिका दूत महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा आइतबार विहानैदेखी निकै चहल पहल थियो । मधेसी संयुक्त मोर्चा र थरुहट संघर्ष समितीले राज्यसंग विभिन्न माग राखी गरेको आमहड्तालको बीच भैरहवामा गाइजात्रा मनाइएको हो ।
भैरहवामा सम्पन्न गाइजात्राका सहभागीले नेपाली राजनीतिका शीर्ष नेताहरुलाई प्रश्न गरेका छन् “हाम्रो गाइजात्रा त आजकोलागी मात्रै हो नेताजी, तपाईहरुको जात्रा कहिलेसम्म ? ”
सयौं मानिसहरु सहभागी भैरहवाको गाइजात्राको तारतम्य मिलाईरहेका वरिष्ठ साहित्यकार विजय सागरले प्रताप मल्लको पालादेखी चल्दै आएको गाइजात्रा पर्व नेवार समुदायका मानिसहरुले दिवंगतहरुको सम्झनामा मनाउने पर्व भएको जनाउदैं भने “नेवारहरुले गाइजात्रा त आज मात्रै मनाउछन् तर हाम्रो देशमा दिनदिनै राजनितीक गाइजात्रा चलिहरको छ । ” नेवाखलः सिद्धार्थनगरका पुर्व अध्यक्ष समेत रहेका सागरले नेपाली राजनितीका शिर्षस्थ नेताहरुले मुलुकमा दिनदिनै राजनितीक आवरणमा गाइजात्रा चलाउंदा महत्वपुर्ण ऐतिहासीक सस्कारको रुपमा रहेको नेवारहरुको जात्राप्रति अन्य समुदायको चासो बढेकोले सोही अनुसार सहभागीता पनि बढेको तर्क गरे ।
गाइजात्रामा दिवंगत आफ्नो बुबा बुद्धिकुमार श्रेष्ठको तस्वीरसंगै हिडीरहेको युवा ओमकुमार श्रेष्ठले आफुहरुको एकदिने जात्राले मृतँत्माप्रति चीरशान्ति प्रकट गर्दै सबैलाई सुखानुभूती तर्फ उन्मूख गराउंने भएता पनि राजनितीका शिर्षस्थ नेताहरुको आडम्बरीपनले मुलुकमा दिनदिनै गाइजात्रा मच्चिएको बताए । नेपाली कांग्रेसका युवा नेता समेत रहेका श्रेष्ठले नेताहरुले जातिय सद्भाव खल्बलाउदैं राष्ट्रिय अखण्डतामा आंच आउने गरी जुन काम गरेका छन् त्यो कुकृत्यले उनीहरु युगौयुग सम्म पनि खराब पात्रका रुपमा नेपाली जनले सम्झिन बाध्य हुने समेत बताए ।
भैरहवाको नेवाखलः पीपरीयादेखी शुरु भएको गाइजात्रा रयालीमा सहभागी नेपाली भाषा साहित्यका विद्वान प्राध्यापक डा. कपील लामिछानेले विगतमा ठट्यौली, हस्यौली र व्यंग्यात्मक पाराका धेरै पत्रपत्रिका पनि गाइजात्रा विशेषांकको रुपमा निस्कने गरेको बताउदंै अहिले मुलुकमा दिनदिनै राजनितीक गाइजात्रा भएर होकी भन्दै गाइजात्रा विशेषांक बन्द भएको टिप्पणी गरे । जात्रामा सहभागी एमाले सिद्धार्थनगर अध्यक्ष समेत रहेका रामबहादुर श्रेष्ठले नेवार समुदायको जात्राले मृतकका आफन्तलाई दुखः विर्साउन सहयोग गर्ने भएता पनि नेताहरुको बहुलठ्ठपूर्ण जात्राले दिनदिनै रुवाएको बताए ।
भैरहवामा पनि गाइजात्रा
यसैबीच नेवार समुदायले देशैभर मनाउदैं आएको गाइजात्रा पर्व रुपन्देही सदरमुकाम भैरहवाका नेवार समुदायले पनि मनाएका छन् । आफ्ना पितृको चिरशान्तिको कामना गर्दै गाईजात्रे झाकी प्रर्दशन गरेका छन् ।
नेवा खलको आयोजनामा भैरहवामा वासोवास गरेका नेवार समुदायकाख मृतक १० जनाको संझनामा उनीहरुको घरबाट झाँकी निकाल्दैं सामुहिक रुपमा भैरहवा वजार परिक्रमा गराएको छ । नेवा खलः सिद्धार्थनगरका निर्वतमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले यसवर्ष बितेका ६ महिला र ४ पुरुषको संझनामा सामुहिक जात्रा निकालेको बताए । उनीहरु ४०देखि ८५ वर्ष उमेरमा आफनै कालगतिले वितेका हुन ।
राम प्यारी अमात्य, कविरमान श्रेष्ठ, बद्धि करमार श्रेष्ठ, जानकी लक्ष्मी श्रेष्ठ, झलक देवी प्रधान, पदम प्रसाद लाकौल, डम्वर बहादुर श्रेष्ठ, सुन कुमारी श्रेष्ठ, धनमाया श्रेष्ठ र विमला जोशीको संझनामा गाईजात्रा निकालिएको नेवा खलः सिद्धार्थनगरको अध्यक्ष लता प्रधानले जनाईन् । नेवार समुदायको सांस्कृतिक चाड भएता पनि भैरहवाको जात्रामा बाहुन क्षेत्री, मगर, गूरुंग, यादव, थारु, दलित सबै रहेका थिए ।
नेवाखलः सिद्धार्थनगरको पीपरिया स्थित कार्यलयबाट निस्केको ताहामचाः सहितको गाइजात्रे रयाली गल्लामण्डी, मिलनचौंक, प्रहरीटोल, बुद्धचौंक, नयासडक, देवकोटाचौंक, बैंकरोड, मैत्रीपथ हुदै पुनः नेवाखलःमै पुगेको थियो । सो अवसरमा मृतकहरुको आफन्तको घरमा पुगी बाबा आमा तथा आफन्तको सम्झनामा भजन समेत गाइएको थियो । नेवाखलः सिद्धार्थनगरको अध्यक्ष लता प्रधानले रचना गरेको भजनमा इसु अधिकारीले संगित निर्देशन, लता प्रधानले खैजडी, सुनिल थापाले तबला बादन गरेका छन् भने मुख्य गायिकाको रुपमा प्रधानसंगै विन्देश्वरी श्रेष्ठ, अन्जना शाक्य, कल्पना प्रधान, रन्जना ब्रजाचार्य र सरला श्रेष्ठ रहेका छन् । जसको अन्य गायिकाहरुमा अस्मीता श्रेष्ठ, सर्मिला कुवर श्रेष्ठ, दुर्गा शर्मा, मनिषा थापा, एलिना आचार्य, एलिसा थापा, कल्पना पुन, निश्चिका क्षेत्री, प्रतिभा चौधरी, अनिषा प्रधान, कविता श्रेष्ठ, मन्दिरा खनाल, सृष्टि थापा, स्नेहा थापा, मानसी श्रेष्ठ, सोनिया श्रेष्ठ, सर्मिला रावल, प्रतिभा बेल्बासे, सृजना श्रेष्ठ, कृष्ण रावल, रीपुना श्रेष्ठ र परीना श्रेष्ठ रहेका छन् ।
गाइजात्राको महत्व
नेपालमा गाइजात्रा पर्व जयस्थिती मल्ल (१४५३) को पालादेखी मनाउदैं आएको भनिएता पनि प्रामणिक तथ्यका आधारमा १६९८ ताका प्रताप मल्लको पालादेखी मनाउन थालिएको देखिएको ईतिहासकार विजयगोविन्द श्रेष्ठ बताउंछन् । ईतिहांसवीद श्रेष्ठका अनुसार तत्कालिन समयमा प्रताप मल्लका कान्छा छोरा प्रार्थिवेन्द्र मल्लको देहावसन भएपछि रानी अत्यन्तै चिन्ताग्रस्त भई खानपीन नै नगर्दा थला परिन् । राजा प्रतापले धेरै प्रयास गरेर पनि रानीको चित्त बुझाउन नसकेपछि उनले आफ्ना राज्यमा उर्दि जारी गरि सबै राज्यबासीले आ आफ्ना मृतकको सम्झनामा गाईको प्रतिमा सहित जात्रामा निस्कन भने । सोही अनुसार सबै प्रजाको घरबाट निस्कीयो त्यो देखेर रानीले आफ्नो मात्रै छोरो मरेको नभई धेरै मानिस मरेको रहेछन् । यसैगरी सबैले चित्त बुझाउनु पर्दो रहेछ भनि चित्त बुझाईन । त्यसपछि यो पर्वलाई निरन्तरता दिइएको हो ।
धार्मिक किवंन्दन्ती अनुसार आजकै दिन यमलोकमा यमराजको मुलद्वार पनि खुल्छ भन्ने कथन छ । यो पर्वमा जात्रामा सहभागी हुदां जुन व्यक्ति मर्नेबेलमा बैतर्नी तरेको हुदैंन त्यो व्यक्तिको सम्झनामा गाइजात्रा निकालिए सजिलै बैतर्नि तर्छ भने भनाई पनि शास्त्रमा उल्लेख भएको इंतिहासवीद श्रेष्ठ बताउंछन् ।
अर्कोतर्फ बहुदल तथा लोकतन्त्र भन्दा अगाडीको शासन व्यवस्थामा नेपालमा वाक स्वतन्त्रतामा अधिकत्तम लगाम कसिएको थियो । त्यस्तो अवस्थामा शासकहरुले गरेका ककृत्य र खराब प्रवृर्तिको भण्डाफोर गर्ने दिन गाइजात्राको दिन मात्रै थियो । अन्य दिनमा शासकहरुको विरोध गरेमा जेल जाने तथा फासीं हुने हुदां गाइजात्राको दिन जत्तिसुकै विरोध गरेता पनि छुट हुने हुदां यस दिनलाई वाकस्वतन्त्रताको दिन पनि भन्ने गरिन्छ । अर्थात पत्रपत्रिका, सन्चार माध्ययम, प्रहसनः तथा लेख रचना मार्फत राज्यका शासकहरुको खराब प्रवृतिको विरोध गर्ने परम्परा पनि रोचक रहेको नेपाली साहित्यका विद्वान प्रा.डा कपील लामिछाने बताउंछन् । प्रा.डा. लामिछाने भन्छन् “ प्रतिबन्धित अवस्थामा पनि हास्यव्यंग्य शैलीमा शासकहरुको विरोध गर्ने दिन थियो गाइजात्राको दिन । तर अहिले वाक स्वतन्त्रता भएर होला त्यो दिन कुरीराख्नु परेको छैन । ” अहिले कलाकारहरुले स्टेज शोको रुपमा हास्यव्यंग्य कार्यक्रम चलाउदै आएका छन् ।
पछिल्लो जनसाख्यकीय तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ६.६ प्रतिशत जनसंख्या रहेको नेवार समुदायहरुले गाइजात्रा पर्व काठमाण्डौं, भक्तपुर, ललितपुर, काभ्रेको पनौति, झापाको चन्द्रगढी, विराटनगर, धरान, धनकुटा, विरगन्ज, नारायणघाट, नवलपरासी, रुपन्देहीको भैरहवा, बुटवल, ड्राइभरटोल, पाल्पाको तानसेन र पाल्पा, गुल्मीको तम्घास, बाग्लुंग, बेनी, कुश्मा लगायत नेवार समुदायको जनघनत्व भएको ठाऊमा मनाएका छन् । गाइजात्रामा मृतक महिलाहरुको सम्झनामा तहामचाः (मान्छेहरुको प्रतिमा) र महिला पुरुष दुबैकोलागी गाईको प्रतिमा बनाई बजार घुमाउने चलन छ । गाइजात्रा पर्वको अवसरमा काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।


















प्रतिक्रिया