दमक, १३ भदौ । गत आवमा झापाका किसानले करिब १३ करोडको पशु बिमा गराएका छन् ।
तीमध्ये गाईको सङ्ख्या अधिक रहेको जिल्लास्थित पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्षमा दुई हजार नौ सय ५५ पशुको बिमा गरिएको थियो ।
तीमध्ये ६५ मरेका हुन् । कुल पशुबिमामध्ये दुई हजार दुई गाईको ५३ लाख एक सय १० तथा ६२ भैँसीको रु एक लाख ४७ हजार सात सय २० बीमा गरिएको जनाइएको छ ।
त्यस्तै दुई सय ९१ बाख्राको एक लाख ८६ हजार आठ सय ६८ तथा छ सय बङ्गुरको पाँच लाख १४ हजार सात सय ६८ बिमा गरिएको थियो ।
पशुधनको बिमा गरेबापत सरकारले अनुदान दिन थालेपछि किसानको जोखिम कम हुने भएकाले पनि जिल्लाका पशु किसान पशुबिमातर्फ आकर्षित भएका छन् ।
आव २०७०/७१ मा किसानले पशुधन मरेपछि बिमा गरिएका पशुको १७ लाखभन्दा बढी क्षतिपूर्ति पनि पाएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार गत आवमा बिमा गरिएका ३७ गाई, तीन भैँसी, १७ बाख्रा र आठ बङ्गुर मरेका थिए ।
ती पशु मरे पनि किसानले १७ लाख ३४ हजार चार सय क्षतिपूर्ति पाएका छन् ।
पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशुबिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालयका सूचना प्रमुख कुमारसिं खत्रीले बताउनुभयो ।
पशु मरेपछि बिमाबापतको रकम पाएका अधिकांश किसानले पुनः सो रकम पशुपालनमा नै लगानी गर्ने गरेको पाइएको छ । रासस















प्रतिक्रिया