काठमाडौँ, १२ भदौ । चाडबाडको बहानामा आफ्नो जिम्मेवारी पूरा नगरेको र कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३० कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
विभागका प्रवक्ता सूर्य सेढाईंका अनुसार आज बिहान विमानस्थलमा उपसचिवको नेतृत्वमा ३४ कर्मचारी उपस्थित हुनुपर्नेमा चार कर्मचारी मात्रै उपस्थित भएका थिए ।
रक्षाबन्धनको बहनामा सरकारले तोकेको जिम्मेवारी पूरा नगरेको र सेवा प्रवाहमा लापरबाही गरेको भन्दै स्पष्टीकरण सोधिएको सेढाईंले राससलाई जानकारी दिनुभयो ।
विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको र सेवा प्रवाहमा लापरबाही गरेको भन्ने चौतर्फी गुनासो आइरहेको बेला विभागका महानिर्देशकसहितको टोलीले आज बिहान अनुगमन गर्दा ३४ कर्मचारीमध्ये तल्ला तहका चारजना मात्रै कर्मचारी कार्यस्थलमा उपस्थित रहेको पाइएको थियो ।
प्रवक्ता सेढाईंका अनुसार विमानस्थलमा बिहान दिउँसो र राति गरी तीन सिफ्टमा कर्मचारीको विभाजन गरी काम गराउने गरिएको छ । हरेक सिफ्टमा प्रमुख भन्सार अधिकृत (उपसचिव), भन्सार अधिकृत, नायब सुब्बा र खरदार गरी ३४ जना कार्यरत रहने गर्छन् ।
कर्मचारी नै अनुपस्थित भएपछि आज बिहान टर्किस एअरबाट आएका यात्रुको जाँच गर्न समस्या पैदा भएको थियो । सामान्यतया सो एअरको जहाज बिहान ६ः३० बजे विमानस्थलमा अवतरण हुने गर्छ । कर्मचारी नै नभएपछि समस्या भएको गुनासो आमरुपमा आउने गरेको थियो ।
प्रवक्ता सेढार्इंले कार्यालय समयमा अनुपस्थित भएका ३० कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० अनुसार कारबाहीका लागि स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।
‘‘चित्तबुझ्दो स्पष्टीकरण नआए कानुनबमोजिम अनुपस्थित कर्मचारीलाई विभागीय कारबाही हुन्छ । कार्यस्थलमा उपस्थित नहुने र सेवा प्रवाहमा अवरोध खडा गर्नेलाई छुट दिन सकिँदैन ।’’
अनुगमनको क्रममा कार्यस्थलमा रहेका कर्मचारी पनि अधिकृत तहका कोही पनि नभएको, प्रमुख भन्सार अधिकृतलगायतका उच्च अधिकारीले कुनै जानकारी नगराएको पाइएको सेढाईंको भनाइ छ ।
व्यवस्थापिका–संसद् मातहतको विकास समितिले केही दिनअघि गरेको स्थलगत अनुगमनका क्रममा समेत विभाग मातहतका कर्मचारीको भूमिका प्रभावकारी नभएको पाइएको थियो । रासस















प्रतिक्रिया