१ कार्तिक २०८३, शनिबार

ठेकेदार कम्पनीको लापर्बाहीले जयराम पुल निर्माणमा ढिलाइ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakki-pulखोटाङ, १२ भदौ । ठेकेदार कम्पनीको लापर्बाहीले खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल निर्माणमा ढिलाइ भएको छ । सात वर्षअघि पुल निर्माणको जिम्मा लिएको हुलास कालिका कन्स्ट्रक्सन जेभीका ठेकेदारले लापर्बाही गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो ।

पुल निर्माणका लागि ठेकेदार कम्पनीले सात वर्षअघि सडक विभागसमक्ष सम्झौता गरेपनि बेवास्ता गरेका कारण समयमा पुल बन्न नसकेको खोटाङ क्षेत्र नं १ बाट निर्वाचित सभासद् पाँचकर्ण राई (पिके)ले बताउनुभयो । “ठेकेदारले गरेको लापर्बाहीका बारेमा सडक विभागसमेत मौन छ ।” उहाँले भन्नुभयो – “विभागले चासो दिने हो भने आगामी मङ्सिरभित्रमा पुल निर्माणको काम सम्पन्न हुने थियो ।”

काठमाडौँ तथा तराईका जिल्लाहरु प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको जयराम पुल बन्न नसक्दा जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु भित्र्याउन समस्या भएको उद्योग वाणिज्य सङ्घ, खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “जिल्लावासीको समस्यालाई सरकारले बेवास्ता गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो,” उहाँले भन्नुभयो – “यसले गर्दा जिल्लामा उत्पादन भएको कृषि उपजहरु बाटो अभावमा निकासी हुन नसक्दा कुहिएर जान थालेको छ ।”

जिल्लामा ‘एक गाउँ एक उत्पादन’को अभियान सञ्चालन गरिरहेको वाणिज्य सङ्घले बाटो र पुलको समस्याका कारण बजार प्रवद्र्धन गर्न सकेको छैन । यसका लागि दूधकोसीमा निर्माणाधीन पुलको काम र सडकको स्तरोन्नतिको कामलाई तत्काल द्रुत बनाउनु पर्ने लयालुको भनाइ छ ।

जिल्लामा उत्पादन भएको बेमौसमी तरकारी अहिले तराईको बजारमा पु¥याउन पाए राम्रो भाउ पाउन सकिने अगुवा कृषक जेपी राईले बताउनुभयो । “पक्की पुलको अभावमा यातायात सञ्चालन नहुँदा उत्पादित बन्दा र काउली गाईभैँसीलाई खोलेको रुपमा प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।” उहाँले भन्नुभयो – “यसले गर्दा जिल्लामा फैलिँदै गरेको कृषि व्यवसाय सङ्कटमा पर्ने अवस्था आएको छ ।”

पुल निर्माणका लागि ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरिरहेको सडक विभागका पूर्वाञ्चल क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले बताउनुभयो । “ठेकेदार कम्पनीले आगामी फागुन महिनाभित्र पुल जिम्मा दिने लिखित प्रतिबद्धता गरेको छ ।” उहाँले भन्नुभयो – “यदि त्यो समयमा पनि काम पूरा नगरे ठेक्का सम्झौता तोडेर अन्य विकल्पका साथ पुल निर्माणको कामलाई अगाडि बढाइनेछ ।”

ठेकेदार कम्पनीले रु १० करोड छ लाखको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०६६ साल भदौमा पुल निर्माणको जिम्मा लिएको थियो । २०६८ साल असार मसान्तमा सम्पन्न गर्नुपर्ने जयराम पुलको अहिलेसम्म पिलर हाल्ने काम मात्र भएको छ ।

उक्त पुल निर्माणको काम तत्काल सक्न भौतिक पुर्वाधार तथा निर्माणमन्त्री विमलेन्द्र निधिले समेत निर्देशन दिइसक्नुभएको छ । जयराम पुल सञ्चालनमा ल्याउन सकेमा जिल्लाको विकासले गति लिने प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । रासस