२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको चेतावनीः संविधानमा सबै कुरा परेन भन्दैमा आन्दोलनमा होमिनु न्यायोचित हुँदैन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र, सुख र समृद्धिको नेपालीको चाहना छिट्टै पूरा हुने बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले सो कुरा रक्षाबन्धनका अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका निर्देशक ब्रहमाकुमारी राजदिदीबाट रक्षाबन्धन धारण गरेपछि सञ्चारकर्मीसँग बताउनुभएको हो ।

लोकतान्त्रिक शासन पद्धतिको स्थापना र विकासका लागि नेपाली जनताले झन्डै एक शताब्दी लामो सङ्घर्ष गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले हालसम्म प्राप्त उपलब्धि आउने संविधानमा लिपिबद्ध हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले सबै जातजातिले आआफ्ना, भाषा, वेशभूषा, संस्कृति, परम्परा, धार्मिक स्वतन्त्रता पाएकाले त्यसबाट कोही पनि पछि हट्न नसक्ने बताउनुभयो ।

उहाँले संविधानसभामा विभिन्न राजनीतिक आस्था र विचार भएका राजनीतिक दलको प्रतिनिधित्व भएकाले आउने संविधान सम्झौताको दस्तावेज हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले संविधानमा सबै राजनीतिक दल र पक्षका सबै कुरा समेटिन सम्भव नहुने र यो समयानुकूल परिवर्तन पनि हुने भएकाले आफ्ना सबै कुरा परेन भन्दैमा आन्दोलनमा होमिनु न्यायोचित हुदैन भन्नु भयो ।

उहाँले काम र मामको खोजीमा विदेशिएका ३५ देखि ४० लाख नेपालीको दुःख सम्झेर काम गर्न आवश्यक भएको उल्लेख गर्दै भन्नुभयो, “तर दुर्भाग्य यसलाई कसैले सम्झेको छैन ।” उहाँले देशमा लोकतान्त्रिक संविधान जारी भई शान्ति र अमनचयन कायम भएमा प्राकृतिक सम्पदा र मानव संशाधनको उपयोगले आठ, दश वर्षमा नै देशको आर्थिक अवस्था फेरिने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक शासन पद्धति, शान्ति, स्थायित्व र विकासका लागि अग्रज नेताले गरेको सङ्घर्ष, त्याग, सहिदको बलिदान र कठोर जेल यातनाको स्मरण गर्दै भन्नुभयो, “त्यस्तो बेलामा लोकतन्त्रका लागि हामी अगाडि बढ्नु थियो, बढ्यौँ । देशमा अब कोही ठूलो छैन, सबै जनतामात्रै छौं । आफ्ना माग संविधानसभामा राखौँ ।”