काठमाडौं, १२ भदौ । नेपाल चलचित्र पत्रकार संघ चितवन शाखाका कार्यसमितिका सबैले सामूहिक राजीनामा दिएका छन् ।
शाखाका अध्यक्ष रवि अधिकारीलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रले कारबाही गरेपछि चितवन शाखा आक्रोशित भएको हो ।
चितवन शाखाको विवादले चलचित्र पत्रकार संघको केन्द्रीय कार्यसमितिमा पनि प्रवेश पाएको छ ।
‘केही समय अगाडि चलचित्र पत्रकार संघ चितवन शाखाले अध्यक्ष रवि अघिकारीको पुनः वहालीको लागि पत्रचार गरिएकोमा केन्द्रले सो कुरालाई वेवास्ता गरी उल्टै चलचित्र पत्रकार संघ चितवन शाखालाई व्यक्तिवादी ढंगले अगाडि बढाउन खोजिएको हुनाले त्यस्ता तानाशाही प्रवृतिप्रति घोर आपत्ति जनाउँदै चितवनमा चलचित्र पत्रकारिता गरिरहेका यस संघमा आवद्ध हामी सबैजनाले सामूहिक राजीनामा पेश गर्दछौं’, राजीनामा पत्रमा भनिएको छ ।
‘यसरी व्यक्तिवादी प्रवृति हावी भइरहेमा संघको अस्तित्व नरहने र काम गर्न असहज परिस्थिति सिर्जना भएकोले चितवनमा क्रियाशील चलचित्र पत्रकारहरूले नयाँ संघ गठन गरी अगाडि बढ्न बाध्य हुनेछ’, सचिव गोविन्द अर्यालद्वारा हस्ताक्षर राजीनामा पत्रमा भनिएको छ ।
केही समयअघि चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलका विषयमा अध्यक्ष अधिकारीले फेसबुकमा लेखेको स्ट्याटसलाई आधार बनाइ संघले हदैसम्मको कारबाही गरेको थियो ।
केन्द्रीय कार्यसमिति चितवन शाखाका अध्यक्ष अधिकारीको कारबाही फिर्ता लिने पक्षमा छैन ।
उता चितवन शाखाले भने अधिकारीविरुद्धको कारबाही फिर्ता नगरिए संघ फुटाउने चेतावनी दिएको छ ।
कार्यवाहक अध्यक्ष रामेश्वर रिजालले पनि केन्द्रको निरंकुश शैलीविरुद्ध आफू रहेको बताउनुभयो । उहाँले कसैलाई लक्षित गरेर स्ट्याटस लेखेकै भरमा पत्रकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न नमिल्ने बताउनुभयो ।















प्रतिक्रिया