९ कार्तिक २०८३, सोमबार

काठ तस्करी रोक्न सजगता अपनाउँदै वन कार्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १० भदौ । मोरङमा काठ तस्करी हुने क्रम बढ्दै गएपछि जिल्ला वन कार्यालय मोरङले उच्च सजगता अपनाएको छ ।

बन्दको मौका छोपी तस्करी हुने क्रम बढेसँगै वन कार्यालयले प्रहरीको सहयोगमा तस्करी नियन्त्रण कार्य सुरु गरेको हो ।

चोरी तस्करी नियन्त्रणका लागि वनक्षेत्रमा खटाइएका प्रहरी बन्द व्यवस्थापनमा सक्रिय भएपछि वन क्षेत्रमा तस्करको चहलपहल बढ्न थालेको जिल्ला वन कार्यालयले जनाएको छ ।

बन्दकै क्रममा मोरङको बेलबारीमा रहेको देवीथान सामुदायिक वन क्षेत्रबाट बुधबार राति काठ तस्करी गरिरहेको अवस्थामा तीनवटा साइकल र तीन थान सखुवाको लकडीसहित एकजना पक्राउ परेका छन् भने तस्करीमा संलग्न सातजना फरार भएका छन् ।

वन समूहका पदाधिकारीसहितको टोलीले वन अनुगमन र गस्ती गर्ने क्रममा बेलबारी नगरपालिका–६ का धनराज चौधरीलाई पक्राउ गरेको र अन्य सातजना भाग्न सफल भएको सो समूहका अध्यक्ष नारायण सुनुवारले बताउनुभयो ।

तस्करीमा संलग्नले यसअघि दुईपटक गरेर २५ क्युबिक फिट जति काठ लगिसकेको र लैजाने तयारीमा रहेको अन्दाजी ५० क्युबिक फिट काठ नियन्त्रणमा लिएको जानकारी अध्यक्ष सुनुवारले दिनुभयो ।

त्यस्तै केही दिनअघि लिम्बुवानका पूर्वी कमान्डर बताउने सविन चेम्जुङ उर्फ कुलबहादुरसहित आठजना चुरेक्षेत्र तथा समथल फाँटमा रहेका जङ्गलबाट काठ तस्करी गर्दै गर्दा पक्राउ परेका थिए ।

पक्राउ परेका सबैलाई वन ऐनअन्तर्गत मुद्दा चलानसमेत गरिएको जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । रासस