धनगढी, ९ भदौ । जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुरको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये तीन जनालाई सोधपुछ पछि आज रिहा गरिएको जनाएको छ ।
दरख गाविसको नारायणपुरका रामजनम चौधरी, जोशीपुर गाविसका खड्कबहादुर चौधरी र सुन्दरलाल चौधरीलाई सोधपुछ पछि छाडिएको हो ।
थरुहट आन्दोलनकारीले खुँडा, भाला, बन्चरो, हँसियालगायत घरेलु हतियार प्रहार गर्दै शरीरमा आगोजन्य पदार्थ फ्याँकेर ड्युटीमा खटिएको अवस्थामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका सुरक्षाकर्मीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको भन्दै पक्राउ परेका मुनुवा गाविसका रामकुमार कठरिया, सुन्दरलाल कठरिया, दीलबहादुर चौधरी, राजकुमार कठरिया, हरिनारायण चौधरी, भजनी–त्रिशक्ति नगरपालिकाका प्रेमबहादुर चौधरी र जोशीपुर गाविस घर भएका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
पक्राउ गरिएकाको रिहा गर्न माग
थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति कैलाली र राना थारु संयुक्त सङ्घर्ष समितिले टीकापुर घटनापछि गाउँगाउँबाट आफ्ना कार्यकर्तालाई धरपकड गरी सरकारी दमन बढेको भन्दै पक्राउ गरिएकाको रिहा गर्न माग गरेको छ ।
आज संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी उनीहरुले टीकापुरमा भएको घटना राजनीति नभएपनि आपराधिक बनाइएकाप्रति विरोध गर्दै त्यसको निष्पक्ष छानबिनको माग गरिएको छ । रासस















प्रतिक्रिया