डडेल्धुरा, ९ भदौ । देशका विभिन्न स्थानमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि भइरहेको अवस्थामा डडेल्धुरामा सद्भाव र्यालीको आयोजना गरिएको छ ।
शान्ति समिति डडेल्धुराको आयोजनामा आज बिहान सद्भाव र्यालीको आयोजना गरिएको हो । ‘हामी नेपाली, हाम्रो नेपाल’ भन्ने नारासहित बृहत् सद्भाव र्याली आयोजना गरिएको हो । र्यालीमा सयौँको सङ्ख्यामा कर्मचारी, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
सद्भाव र्यालीले डडेल्धुराको तुफानडाँडा, बागबजार, खलङ्गालगायत नगरक्षेत्रमा परिक्रमा गरेको छ । सबै मिलेर शान्ति र सद्भाव फैलाउनेतर्फ लाग्नुपर्ने भएका कारण सबैमा सद्भाव कायम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउनुभयो ।
देशमा शान्ति र अमनचयनसँगै समुदायबीच भइरहेको सद्भाव बिथोलिने क्रियाकलापलाई निरुत्साहित गर्न डडेल्धुरामा बृहत् सद्भाव र्याली आयोजना गरिएको शान्ति समितिका संयोजक लालबहादुर ऐरीले बताउनुभयो ।
तस्वीर : राजेन्द्र ठगुन्ना
















प्रतिक्रिया