काठमाडौं, ९ भदौ । सशस्त्र प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सोमबार बिना हतियार आन्दोलनकारीलाई सम्झाउँदै थिए।
उनका दुई सुरक्षा गार्ड पनि हतियार बिनै थिए। सशस्त्र प्रहरीका एसपीको हतियारसहितका टोलीको गाडीमा बसेका उनी आन्दोलनकारीलाई रोक्न पुगेका थिए। प्रहरी स्रोत भन्छ, ‘विवाद सुरू भएपछि सशस्त्र प्रहरी टोली पछाडि सरिदियो।
प्रदर्शनकारीले शान्तिपूर्ण जुलुस गर्न माग गरेपछि प्रहरीले रोक्न खोज्यो। नमानेपछि प्रहरीले अश्रुग्यास छोड्यो ।
अश्रुग्यास हानेपछि प्रदर्शनकारीले आक्रमण गरे।‘एक्कासी चारै तर्फबाट घेरा हाले। भाला हतियारसहितले एकाएक आक्रमण गरे ।
कमाण्डर नै ढलेपछि सँगै गएका नेपाल प्रहरीका एसपी र सुरक्षाकर्मी झन अन्यौलमा परे’, प्रत्यक्षदर्शीले भने,‘ठोस निर्णय लिन सकेनन् ।
त्यस कारण थप दुई निरीक्षकसहित ७ सुरक्षाकर्मीको घटनास्थलमै हत्या भयो सुरक्षाकर्मीको हत्या गरेपछि उनीहरूले हतियार पनि लिएर गए।’
घटनास्थल नजिकै घर रहेका सादा पोसाकका सशस्त्र प्रहरी हवल्दारलाई लक्षित गरी उनीहरूले गोली चलाए ।
त्यो गोलीले उनका नाबालक छोरा मारिए। थरूहट आन्दोलनको अगुवाइ गर्नेहरूमा एमाओवादीका पूर्व लडाकुहरू रहेको स्थानीयले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
गृह मन्त्रालयले कैलाली पठाएको नयाँ प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले आए लगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसालेर सुरक्षा स्थितिको समीक्षा गरेको छ ।
डिआईजी माधव नेपाल र सरुवा भएर जान लागेका डिआईजी रामकुमार खनाल पनि सहभागी भएको बैठकपछि उनले भने, ‘केही कमजोरी देखिएको छ । टिम वर्किङ, समन्वय र सूचना शेयरिङ आदिको अभाव देखियो ।’
उनले हिजोको घटनामा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्ने प्रतिवद्धता सुरक्षा समितिमा गरिएको बताए ।















प्रतिक्रिया