पोखरा, ८ भदौ । लामो समयदेखि जोडी भएर काम गर्दै आएका महिला र पुरूष कलाकाका सम्बन्धमा प्रश्न गरिनु सामान्य नै हो। उत्तर दिँदादिँदै अभ्यस्त हुनु नौलो होइन।
एक समय रेडियोमा राम विलास र धनियाँ बनेर अभिनय गर्ने दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी अहिलेसम्म कला क्षेत्रमा निरन्तर छ। दुबैले जहाँ पुगेपनि सामना गर्नैपर्ने प्रश्न नयाँ भने होइन। के तपाईहरू श्रीमान श्रीमती हो ? के सम्बन्ध छ ?
आफ्नो लगानीको नयाँ फिल्म वडा नम्बर छको प्रमोशनका लागि पोखरा पुगेका उनीहरूले यही प्रश्नको उत्तरमा दीपकले हामी दुई अस्थायी पति पत्नी हौ भनेका छन् ।
दुवैले सम्बन्धका कारण उब्जिने प्रश्नलाई सामान्य रूपमा लिए। साथै आएका निर्देशक दिनेश डीसीले विगत सम्झाइदिएपछि कुरा गर्न सहज भयो। दुवैको ब्यानरको अघिल्लो फिल्म ‘छ एकान छ’ को निर्देशन दिनेशले नै गरेका थिए, जसलाई दुवैले गुरुका रूपमा सम्बोधन गरे।
हुन त दीपकलाई अभिनय क्षेत्रमा दिनेशले नै ल्याएका हुन्। दोस्रो प्रोजेक्टमा निर्देशनको जिम्मेवारी भने उज्ज्वल घिमिरेलाई दिइएको समाचार कान्तिपुर दैनिकले छापेको छ।
सम्बन्ध चिसिएकाले उनीहरूले दिनेशलाई दोस्रोको निर्देशन नदिएको गाइँगुइँ चलेको थियो।
यसको प्रस्टीकरण जस्तो गरी दीपकले भने, ‘यसको कथा अनुसारको काम उज्ज्वल घिमिरेले गर्दै आउनुभएको थियो। त्यसैले निर्देशनको जिम्मेवारी पनि उहाँलाई नै दियौं।’
दीपाश्रीले पनि दिनेशको गुन मानिन्, दिनेशले दीपकलाई यो क्षेत्रमा नल्याएको भए आफूले अहिले यसरी अभिनय जोडी नपाउने स्वीकार गर्दै। ‘हामी २२ वर्षदेखि अहिलेसम्म जोडीको रूपमा छौं,’ उनले भनिन्, ‘हाम्रो जोडी कहिल्यै टुटदैन, उदाहरण बन्न चाहन्छौं।’
उनका कुरा सुनेर दीपक मुसुमुुसु हाँसिरहेका थिए। कुनै कलाकारको स्थायी पतिपत्नीको प्रसंग ल्याएका दीपकका कुरालाई त्यति बेला मिडियाकर्मीले च्याप्पै समाते। प्रश्न गरे, ‘तपाईंहरूको जोडीको सम्बन्ध चाहिँ के हो तर ?’
केही बेर दीपक र दीपा अकमक्क परे। दीपकले ठट्यौलो पारामा जवाफ फर्काए, ‘हामी दुवै अस्थायी पती–पत्नी हौं।’
दीपक विवाहित हुन् भने दीपा अहिलेसम्म पनि अविवाहित छिन्। टेलिसिरियल ‘तीतो सत्य’ बाट लोकप्रियता हासिल गरेका यी जोडी पछिल्लो क्रममा ठूलो पर्दामा अभिनयसँगै सिनेमा निर्माणमा समेत जुटेका छन् ।
पहिलो ब्यानर ‘छ एकान छ’ बनाए। त्यसले सफलतासँगै आर्थिक लाभ दिएपछि अहिले दोस्रो ‘वडा नम्बर ६’ निर्माण गरेर प्रदर्शनको तयारीमा छन्।















प्रतिक्रिया