काठमाडौँ, ७ भदौ । व्यवस्थापिका-संसद्को आजको बैठकमा सांसदहरुले संविधान जारी हुने अन्तिम समयमा आइपुग्दा जातीयता र क्षेत्रीयताका कुरा उठाएर आन्दोलन नगर्न आग्रह गरेका छन् ।
सभामुख सुवासचन्द्र नेम्वाङसँग समय माग गरी नेकपा एमालेका उपाध्यक्ष तथा सांसद भीमबहादुर रावलले संविधान जारी हुने अन्तिम बिन्दुमा आइपुग्दा जनतालाई भड्काउने र सामाजिक सद्भाव खलबलाउने काम कहीँ कतैबाट हुन नहुने भन्दै जाति, समुदाय एकजुट भएमा मात्र देश समृद्धिको दिशामा अगाडि बढ्न सक्ने बताए।
थरुहट तराई पार्टी नेपालका गङ्गा चौधरी (सत्गौवा)ले लगाएको आरोपको खण्डन गर्दै नेता रावलले थारु समुदायलाई विशेष अधिकार दिइने बताउँदै उनले जनतालाई भड्काएर संसदमा नउफ्रीन चेतावनी दिए । चौधरीले आइतबारको बैठकमा नामै किटान गरे सुदूरपश्चिमका शेरबहादुर देउवा र भीम रावलले थारुहरुको अधिकार खोसेको भनी अमर्यादित ढङ्गले आक्षेप लगाएका थिए ।
जसका कारण सभामुख सुवास नेम्वाङले नेताद्वय देउवा र रावलको नाम व्यवस्थापिका- संसद्को ‘रेकर्ड’बाट मेटाउन संविधानसभा/व्यवस्थापिका-संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।
सांसद भरतकुमार साहले संविधान जारी गर्ने अन्तिम समयमा सबैले संयम अपनाउनुपर्ने बताउँदै धमिलो पानीमा माछा मार्ने काम कहीँ कतैबाट गर्न नहुनेमा जोड दिए ।
यो पनि पढ्नुहोस् :
देउवा र रावलको नाम संसद्को ‘रेकर्ड’बाट मेटाउन सभामुख नेम्वाङको निर्देशन















प्रतिक्रिया