पानीट्याङ्की (मोरङ), ७ भदौ । काठ तस्करी गरेको आरोपमा प्रहरीले सङ्घीय लिम्बुवान पार्टी नेपाल मोरङका एक कमाण्डरलाई पक्राउ गरेको गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले लिम्बुवान भोलेन्टियर्सका मोरङ कमाण्डर सबिन भन्ने तुलबहादुर चेम्जोङलाई आइतबार राति पक्राउ गरेको हो ।
आइतबार राति ११ बजेतिर पिकअप भ्यानमा चिरान काठ तस्करी गरेर ल्याउँदै गर्दा कमाण्डर चेम्जोङलाई उर्लाबारी– ६, थापाचोकबाट पक्राउ गरिएको इप्रका उर्लाबारीका निरीक्षक श्रीराम भण्डारीले जानकारी गराउनुभयो ।
प्रहरीका अनुसार राति पिकअप भेनमा चिरान सालको ४७.२६ क्युफिट काठसहित उनलाई अस्थायी प्रहरी चौकी मङ्गलबारेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेल नेतृत्व टोलीले पक्राउ गरेको थियो ।
तस्करीमा संलग्न भएको आरोपमा को१च ६९९२ नंको बुलेरो पिकअप र मे६प २४५ नंको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पिकअप म्यानको पछाडि मोटसाइकलमा सुरक्षा दिँदै आएका लिम्बुवानका कमाण्डर सविनले यो लिम्बुवानको काठ हो भन्दै छोड्न धम्की दिएपछि उनलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ ।
उनी यसअघि पनि पटकपटक काठ तस्करीमा संलग्न रहँदै आएको र फरार अभियुक्त पनि रहेको इलाका वन कार्यालय मङ्गलबारेबाट थाहा भएको छ ।
पक्राउ गरिएको काठ र कमाण्डरलाई आवश्यक कारबाहीका लागि प्रहरीले इलाका वन कार्यालय मङ्गलबारेमा बुझाएको जनाएको छ । रासस
















प्रतिक्रिया