सिरहा, ५ भदौ । ‘मधेस आन्दोलनबाट धेरै नेता जन्मिए, उनीहरू मन्त्री पनि भए तर मधेसी जनताले के पाए ?’, २०६३ सालको मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोका बुबाको प्रश्न हो यो ।
लहान बजारदेखि १८ किलोमिटर दक्षिण-पश्चिम सिरहाको फूलबरिया मझौरामा शुक्रबार पुग्दा घरमा सहिदका बुवा रवि, आमा रानो र दाजु बालकृष्ण थिए। रविले निराश हुँदै भने, ‘सहिदको बलिदान खेर गयो। मेरो छोराको बलिदान केही मान्छेलाई मन्त्री, नेता र माननीय बनाउन मात्र थिएन।’
नौ वर्षअघिको मधेस आन्दोलन र छोरा रमेशका विषयमा कुरा सुरु गर्दा आमा रानो भक्कानिइन् । संविधानको विषयमा केही बताउन नजान्ने उनले भनिन्, ‘धेरै छोराका आमा यसरी नै रोइरहेका छन् । आँसु पुछ्ने नेता कोही भएनन्।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले अबको आन्दोलनमा सहिद हुनेका परिवारलाई ५० लाख नगद, नोकरी र शिक्षाको प्रबन्ध गर्ने घोषणा गरेको पनि रमेशका बाबुआमाले सुनेका छन् ।
‘फोरमका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको वचन त पूरा गरेनन् । अब के होलार ?’ रविले भने, ‘मधेसी जनताको अधिकार प्राप्तिका एउटा छोरा सहिद भयो, हामीजस्ता धेरै छोराले तपाईंलाई सहारा दिन्छौं भनेका थिए । खोइ, त्यसपछि कोही आएनन्।’
पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव तथा पूर्वमन्त्रीहरू राजेन्द्र महतो र महन्थ ठाकुरले बुधबार सार्वजनिक अपिलमार्फत मधेसी युवाहरूले आन्दोलनमा होमिएर ज्यान गुमाएको खण्डमा सहिद घोषणा गर्ने र उनीहरूका परिवारलाई प्रतिसहिद ५० लाख रुपैयाँ दिने घोषणा गरेपछि २०६३ मधेस आन्दोलनबाट प्रभावित परिवारबाट आक्रोशित भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
मधेस आन्दोलनका अर्का सहिद मोहम्मद अनिशकी आमा विल्तुन खातुन कति दिक्क छिन् भने उनी आन्दोलन र नेताका कुरा सुन्न पनि चाहन्नन् ।
‘आन्दोलन गर्छन्, ठूल्ठूला कुरा गर्छन् । जनताका छोराछोरी मर्छन्, आफू मन्त्री बन्छन्’, उनले भनिन्, ‘त्यसपछि त छोरा गुमाउनेले उनीहरूलाई भेट्न पनि पाउँदैनौं । हाम्रो भोगाइ यस्तै छ।’















प्रतिक्रिया