१ कार्तिक २०८३, शनिबार

सिमेन्टमा आत्मनिर्भर बन्दै नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

28770_cement– दीपक घिमिरे

लुम्बिनी (रुपन्देही), ४ भदौ । सिमेन्ट उत्पादनमा सक्षम मानिएको लुम्बिनी औद्योगिक करिडोरले नेपाली बजारको मागअनुसारको सिमेन्ट उत्पादनका लागि ठूलो योगदान पु¥याउँदै आएको छ ।

लुम्बिनी करिडोरमा स्थापित सिमेन्ट उद्योगले नेपाली बजारमा सिमेन्टको मागलाई ४० देखि ५० प्रतिशत पूरा गरेको छ । विदेशी सिमेन्टको आयात प्रतिस्थापन गर्र्दै नेपाली सिमेन्टलाई नेपाली बजारमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याएका यहाँका सिमेन्ट उद्योगले गुणस्तरमा पनि उत्तिकै ध्यान दिएका छन् ।

नेपाली सिमेन्टभन्दा भारतीय ब्रान्डका सिमेन्ट गुणस्तरीय हुन्छन् भन्ने नकारात्मक धारणालाई चिर्दै आएका यहाँका सिमेन्ट उद्योग गुणस्तरीयतालाई विशेष ध्यानदिँदै ओपिसी र पिपिसी दुवै ब्रान्डका सिमेन्ट बजारमा ल्याएका छन् ।

यस क्षेत्रबाट उत्पादित सिमेन्ट नेपालमा बनेका ठूलाठूला परियोजनामा प्रयोग भएका छन् । नेपालका धेरैजसो संरचनामा नेपाली सिमेन्टकै प्रयोग भएका कारण नेपाली सिमेन्ट पनि विदेशी सिमेन्टभन्दा गुणस्तरमा कुनै कमी नभएको जानकारले जनाएका छन् ।

लुम्बिनी औद्योगिक करिडोरबाट झन्डै एक दर्जन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरेका छन् । यस क्षेत्रबाट अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, सुप्रिम सिमेन्ट, जगदम्बा सिमेन्ट, बृज सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, अग्नि सिमेन्ट, पाठक सिमेन्ट, विशाल सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् ।

नेपाली बजारमा सिमेन्टको मागअनुसार पूर्तिगर्न यस क्षेत्रमा पनि नयाँ उद्योग स्थापना हुने क्रम पनि बढेको छ भने सञ्चालनमा रहेका सिमेन्ट उद्योगले उत्पादन क्षमता बढाउँदै लगेका छन् । नेपाली सिमेन्ट उद्योगले वार्षिक ३५ लाख देखि ४० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेकोमा लुम्बिनी करिडोरमा सञ्चालित उद्योगले मात्रै त्यसको ५० प्रतिशत हिस्सा ओगटेको छ । लुम्बिनी करिडोरमा सञ्चिालत उद्योगले १५ देखि २० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएका छन् ।

सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अगाडि बढेको नेपालमा बैंक तथा वित्तीय क्षेत्रको पनि ठूलो लगानी लागेको छ । नेपाली सिमेन्ट उद्योगका क्षेत्रमा आव २०७१÷०७२ सम्म आइपुग्दा झन्डै रु साढे ३५ अर्ब कर्जा प्रवाह भएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

नेपाली बजार नेपाली सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अगाडि बढेपनि विदेशी सिमेन्टको आयात भने घटेको छैन । गत आव २०७०÷०७१ मा भैरहवा भन्सार कार्यालय हँुदै ३७ करोड ६३ लाख २१ हजार १७० केजी सिमेन्ट क्लिङ्कर भारतबाट नेपाल भित्रिएकोमा आव २०७१÷०७२ मा सोही भन्सार कार्यालयमार्फत ४२ करोड ३० लाख १८ हजार ८२८ केजी सिमेन्ट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालय रूपन्देहीले जनाएको छ ।

नेपाल विकास निर्माणमा अगाडि बढेका बेला सरकारले ठूला परियोजनाका लागि भन्सार र भ्याट छुटदिँदा र नेपाली सिमेन्टले मागअनुसार पूर्तिगर्न नसक्दा केही प्रतिशतले सिमेन्टको आयात बढेको सरोकारवालाले जनाएका छन् ।

नेपालमा निर्माणाधीन ठूला परियोजनामा ठेकेदारलाई विदेशी सिमेन्ट आयात गर्न भन्सार र मूल्य अभिवृद्धि करमा दिने गरेको छुटका कारण विदेशी सिमेन्टको आयातमा कमी आउन नसकेको सुप्रिम सिमेन्टका महाप्रबन्धक सरोज पौडेलले उल्लेख गर्नुभयो ।

विदेशी सिमेन्टभन्दा नेपाली सिमेन्ट गुणस्तरीय छ, उहाँले भन्नुभयो, तर विदेशी ठेकेदारले भन्सार र भ्याट छुट पाउँदा नेपाली सिमेन्टभन्दा सस्तो पाउँछन् जसले गर्दा नेपाली सिमेन्ट विदेशी सिमेन्टसँग प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको छ ।

नेपाली सिमेन्ट उद्योगलाई आत्मनिर्भर बनाउनका लागि सरकारले विद्युत्को साथै क्लिङ्कर र सडकमा विशेष सहुलियतसहित योजना ल्याउनुपर्नेमा अर्घाखाँची सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जोड दिनुभयो ।

नेपाली सिमेन्ट उद्योगले आगामी दुई वर्षभित्र नेपाललाई सिमेन्टमा आत्मनिर्भर बनाएर भारत निर्यात गर्ने सपना बोकेका छाँै, अग्रवालले भन्नुभयो । यसका लागि सरकारले उद्योग सञ्चालनका लागि आवश्यक बिजुली, सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा चुनढुङ्गा खानी र खानीसम्म जानका लागि सडकको व्यवस्था गर्न जरुरी छ । उहाँले विभिन्न पार्टी र समूहले गर्ने बन्दका कारण नेपाली उद्योग क्षेत्र नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै उद्योग क्षेत्र पूर्णरुपमा सञ्चालन हुने वातावरणको सिर्जना गर्न सरकारले काम गर्नुपर्नेमा समेत उहाँको जोड छ ।

नेपाली ओपिसी सिमेन्टले ग्रेड लेख्न नपाउँदा कतिपय ठूला आयोजनामा नेपाली सिमेन्ट गुणस्तर हुँदाहँुदै पनि प्रयोग हुन नपाएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार भारतीय सिमेन्टमा ग्रेड उल्लेख गरिएको हँुदा ठूला परियोजनामा भारतीय सिमेन्टको जबर्जस्ती प्रयोग हुने गरेको छ, सरकारले यसमा विशेष ध्यान दिएर नेपाली सिमेन्टमा पनि ग्रेड लेख्न दिए नेपाली सिमेन्टले पनि नेपालका ठूलाठूला परियोजना बनाउन सक्छन् ।

पश्चिमाञ्चल सिमेन्ट उत्पादक सङ्घका महासचिव विदुर ढुङ्गानाले नेपाली बजार नेपाली सिमेन्टमा आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभयो । पछिल्लो सयम यस क्षेत्रमा सिमेन्ट उद्योग स्थापनाका लागि दुई÷तीन वटा समूहले अनुमति लिएर बसेको समेत बताउनुभयो । सिमेन्ट उद्योगमा स्वदेशीदेखि विदेशीसम्मको लगानी भित्रिने अवस्थामा छ – महासचिव ढुङ्गानाले भन्नुभया,े “यो अवस्थामा सरकारले लगानीको वातावरणलाई सुरक्षित गर्न जरुरी छ ।”

नेपाली सिमेन्ट उद्योग विद्युत्भार कटौती र ट्रिपिङको समस्याबाट निकै गुज्रिएका छन्, उहाँले भन्नुभयो, यसको दीर्घकालीन समाधानका लागि सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरे नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।

यता रिलायन्स सिमेन्टका महाप्रबन्धक ऋषि पन्सारीले सरकारले नेपाली सिमेन्ट उद्योगको विकासका लागि नयाँ नीति बनाउनु पर्ने बताउनुभयो । उहाँले उद्योग क्षेत्रमा कुनै पनि दिन बन्द नहुने गरी नयाँ नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । बन्दका कारण एक दिनमा मात्रै करोडौँको नोक्सानी हुने हुँदा बन्दको विकल्प खोजी गर्नुपर्नेमा उहाँको जोड छ । रासस