रत्ननगर (चितवन), ४ भदौ । दक्षिण चितवनको माडीमा गएरातिदेखिको अविरल वर्षापछि आएको बाढीले विभिन्न क्षेत्र डुबान र कटानको मारमा परेका छन् ।
हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको माडीमा यो वर्ष पनि बाढीले प्रभावित पारेको हो । अहिलेसम्म माडीका स्थानीयवासी फूलकुमारी पावे र धोधा महतोको घर बगाएको स्थानीयवासी श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।
उनीहरुको खाने अन्नसमेत बाढीले बगाएको छ । राति बाढी पसेको भए पनि भागेर परिवारले भने ज्यान जोगाएका छन् । यहाँको रतनी, पौवारी, सिमरा र धोवाहा बढी प्रभावित भएको जनाइएको छ ।
माडी नगरपालिका– ५ रतनीका अन्य १४ घर उच्च जोखिममा रहेकाले अहिले स्थानीयवासी घर सार्ने काममा सक्रिय रहेको दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार राप्रावि रतनीसमेत कटानको जोखिममा परेको छ । अहिले पनि कटान तीव्र छ ।
जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार बाढीले विभिन्न क्षेत्रमा डुबान र कटान सुरु गरेको छ । क्षतिको विवरण भने आइसकेको छैन । केही घर बगाएको र करिब एक दर्जन घर उच्च जोखिममा पारेको जानकारी आएको उहाँले बताउनुभयो ।
समिति खाद्यान्न व्यवस्थापनमा जुटेको छ भने माडीमा आकस्मिक बैठक बस्न लागेको बताइएको छ ।
लुइँटेलका अनुसार माडीको अर्काे गाउँ धोवाहासमेत डुबानमा परेको छ । विभिन्न क्षेत्रमा लगाएको धानबालीमा बाढी पसेको छ । दक्षिण चितवनको माडी नगरपालिका बाढीबाट उच्च जोखिममा परेको छ । सिमरामा समेत केही घर डुबानमा पारेको स्थानीयवासीले बताएका छन् ।
यहाँको रिउ नदी सबैभन्दा पीडा दिने नदी हो । यस्तै, पहाडी खहरे खोलाले पनि बस्ती जोखिममा पार्ने गर्दै आएको छ । बाढीले अघिल्लो वर्ष माडीमा दुईजनाको ज्यान लिएको थियो । रासस















प्रतिक्रिया